17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुरोध छ नयाँ वर्ष

कविता श्रीभक्त पौडेल¨आफन्त April 18, 2016, 4:44 pm

आउ नयाँ वर्ष आउ,

स्वागत छ तिम्रो,

आतुर छु म

नयाँ पात्रो फेर्न।।

अनुरोध छ,

धेरै आशा र बिश्वास लिएर आउ

कहिल्यै नटुट्ने आस्था र भरोशा लिएर आउ

संक्रमित् छन् मान्छे यहाँ उही पुरानो रोगले

सक्छौ दिर्घबुटी लिएर आउ,

अहमताको रोगले ओछ्यान परेका छन् महाराजाहरु

आफ्नै प्रतिज्ञाले थिचिएका छन् भिष्म पितामहहरु

अर्जुन र कृष्ण कै, महाभारत चलेको बेला।

आउ नयाँ वर्ष,

खुशी छु म तिम्रो स्वागत गर्न पाउँदा

बिचारहरु छरिएका छन् उदेश्य एउटै भएपनि

त्यसैले अलिकती उज्यालो लिएर आउ,

बिशेष बिन्ती छ मेरो

बाचा पुरा गराउने परम बुटी लिएर आउ

लिस्नाहरु भात्किएका छन् यहाँ

केही खुड्किलाहरु लिएर आउ,

शिंह दरबार र बस्तिको दुरी बढेको छ

नयाँ साल जस्तै नयाँ अभियान लिएर आउ

शिंह दरबारको पारीलो घाम बस्ती पुर्‍याउनु छ

शन्त साधुहरु सैतान निस्कन थाले

केही बाँकिरहेका बुद्धत्वका उपदेश लिएर आउ

सिद्धान्तहरु त निख्रिसके दस्ताबेजहरुका

सक्छौ राता पहेंला ठेलिहरु लिएर आउ

आउ नयाँ वर्ष, तिम्रो आगमनमा खुशी छु म।

राजमार्गहरु प्यासी छन् आजभोलि

सिङ्गै गाउँ र बस नै पिए पनि

त्यसैले त्यो प्यास मेटिने जडिबुटी लिएर आउ,

कमजोर छन् सरकार र कुर्ची

मजबुत् कडी लिएर आउ,

एेनका किताबहरु च्यातीसके

गोर्खे लौरो, कानुनको

बलियो छडी लिएर आउ,

त्यती मात्र कहाँ हो र नयाँ वर्ष

परीबन्धका नाकाबन्धीले आक्रान्त छन्

नेपाली अङ्गेनाहरु थोरै आगो लिएर आउ

सुन चाहिंदैन बरु नुन लिएर आउ

बिभेदका खाडल झन गहिरिंदै छन्

खाडल पुर्ने चेतना लिएर आउ।।

अनुरोध त धेरै छन्, नयाँ वर्ष

यसपाली मैले भनेका सम्झिएर ल्याउ

अग्रिम साधुबाद छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।