स्व-त्वको चिचिलो बोकेको
आफ्नै खुट्टाले टेकेको माथिल्तिरको आकाशमा
फिजारिएका बादलहरु
न त्यताका हुन्
न यताका हुन्
न हुन् तिम्रा
न त हाम्रा नै
सक्छौ त
आकाशमा हिड्ने बादलाहरुमा
कोर नक्शा
अनि
बनाऊ झन् आदिम बस्तीहरु
सक्दनौ त नकाट
निर्दोष परेवाका पखेटाहरु
अझै नि सक्दैनौ त
नलुछ --
अवोध मान्छेका चिउला पाउलाहरु
झुसुलेले चिलेर
पुतलीको सौन्दर्य बोकेको चेतनामा
बिस्कुन फिजाउँन हिडेको यात्री
जान्दै-जान्दैन खोस्न
तिम्रा पोल्टाका सातु-सामलहरु
नदीका नागबेलीमा
सपनाको सौदा बाजी नगर्दा
आफैँभित्र नदी बगाएको मान्छेले
ह्याङ्ग-ओभर बोकिबस्छ --
त्यो मगमगाउँदो चाँप
त्यो चौतारो
त्यो तांवे ढुकुर
सौम्य हिमालसंगै हिउँ खेल्दा खेल्दै
खेलकबाट लेखक भएको
माघे संक्रान्तिमा मकर नुहाउन सोक्पा
एक मानू चामल-तुमल नियाल्छ -
फत्किँदो फ्याप्लोमा
बनमाराको बगानमा प्रीतिको गीत नहराओस
मान्छेदेखि भागेर मान्छेकै छेउमा पुगिने
यो विश्व मानचित्रमा विभेद र विसंगतिको बादल नलागोस
त्यसैले,
यो मनले भनि पठाउँछ --
पैयुँ सदाबहार "पैयुँ" भएर फुल्ने समयमा
जून तिमीले "जून" जस्तै शितल हुनु पर्छ ।
जीवन बोकेर नथाक्ने बाटाहरुमा
करुणा र सभ्यताको भेट हुनु पर्छ ।
अनि त
मान्छेहरुको बगैचामा
नि;शर्त मुस्काउदै
सभ्यताले भन्ला कि
सौन्दर्य र सभ्यताको किन चाहियो र अर्को नाम?
बस्
मान्छेको बगैचामा
मान्छेले आफू फलेको फुलेको देखोस् ।