नयाँ कवितामा
आज कविता कि प्रकृति
युग सापेक्ष र समाजसँग
जोडिएर टाँसिएर गाँसिएर
जीवनानुरूप हिँड्ने गर्छिन्,
वैज्ञानिक र बौद्धिक युग..
अप्ठ्यारो निक्कै अप्ठ्यारो
बन्दैछ, फलतः
नयाँ कवितामा नादको लय हैन
अर्थको लय हुन्छ।
तन्काइने बङ्ग्याइने छन्द हैन
अर्थ भित्र बङ्ग्याइ तन्काइ हुन्छ।
आजको छन्द
कविता भित्र हुन्छ
छन्दमा कविता हैन
कवितामा छन्द लुकेको हुन्छ।
त्यसैले त छन्द मूक छ।
पङ्गलले सिउरिदिएको फूल
कतै मुर्झाउँछ कतै ओइलिन्छ
कतै झररै सकियो,
नयाँ कवितामा त्यो फूल
‘फुल’ बनेर गुम्सिएको छ
कुनै दिन ‘फूल’ ‘फुल’ बन्छ
निस्किन्छन् अनेकौ चल्ला
छन्दै छन्द बनेर
लयात्मक गयात्मक
पिङ्गलको फूल फेरि फुल्छ
मेरो उद्यानमा
हाम्रो उद्यानमा।