19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विश्वासघात

कथा विजयकुमार महर्जन April 28, 2016, 7:21 pm

यो समय, यो दिन । कत्ति लामो अझै, २३ घण्टा बाँकी छ । मेरो जन्मघर फर्किन । मेरो मातृभूमि पुग्न । मेरो साथीसँगी, छिमेकि आफन्त अनि सबैका आँखा कत्ति रसाएको थियो, त्यो दिन । जब म घरबाट विदा भएको थिएँ, घरको मूलढोकामा दायाँ—बायाँ घडा राखी आमाले टीका लगाउँदा मेरा वर—पर उभिएका साथीसँगी अनि गाउँले दाजुभाई नरुने पो को होला र ? आज त्यो दिन वितेको पनि २ वर्ष हुन लागिसकेछ । भोलि त म त्यहि मेरो प्यारो गाउँ पुग्नेछु । आहा ! कत्ति धेरै खुशीको दिन आउँदैछ जीवनमा ।

बुबा—आमाले कत्ति धेरै गाली गर्नु हुन्थ्यो, आवारा भई डुलिमात्र हिड्छ पाँच पैसा कमाउने मेलो—मेसो गरेको हैन । एउटा छोरीको बाउ हुँदा समेत एउटा जागीर खान सकेको हैन । पढेर पनि के नै गर्न सक्यौँ र तिमीले । आमा—बुबा आज म तपाईहरुको लागि कमाउन सक्ने भएको छु । मेरी प्यारी दिदी जसले मलाई आफू खाली पेट बसी—बसी खुवाउनु हुन्थ्यो । अरुभन्दा पनि दिदीको बढी सम्झना आउँछ, किनकी हामी एक वर्षमात्र फरकमा जन्मेको हुँदा उहाँलाई दिदी भन्दा पनि साथीका रुपमा बढी पाएको छु मैले । सानोमा हामी सँगैडुल्थ्यौ सँगैखान्थ्यौ । दिदी र म मिलेर जहिले खाना पकाउँथ्यौँ । दिदीले पनि तरकारी पाक्यो कि पाकेन भनी चाखेर हेर्न रिकापी भरी तरकारी दिनुहुन्थ्यो, अनि बुबा आमाले नदेख्ने गरी खुवाउनु हुन्थ्यो । दिदीको त्यो माया म कहिल्यै भुल्न सक्दिनँ । दिदी भोलि म तिम्रो शुभ—विवाहको लागि पुग्ने पैसा लिएर आउँदैछु । सम्झने क्रममा मेरो प्राणभन्दा प्यारी छोरी “साहसी” जसलाई २ वर्ष अगाडि छोडेर आएको थिएँ । अहिले त उनी ४ वर्षकी भैसकिन । उनको सम्झनाले प्रतिपल सताउँथ्यो मलाई । मेरा यी कानहरुमा उनको “बाबा” भन्ने शब्द गुञ्जिरहेको छ । अनि..... अनि.... मेरी धर्मपत्नी “विश्वासी” कत्ति मेरो यादमा डुबेकी होलिन् । मेरो फर्किन बाँकि रहेको यो एकदिन पनि कत्ति गाह्रो गरी काट्दै होलिन् उनी । मेरा जस्तै छट्पटाइमा उनले कति दिन कति रात काटिन् होली । त्यसैले होला अस्तिमात्र मैले फोन गर्दा झर्केर बोलेकी अनि भनेकी “भिसा थप्न मिल्ने भए थपेर अझै केही वर्ष उतै बसे हुन्छ । यहाँको केहि चिन्ता लिनु पर्दैन यहाँ सबै ठीक छ” भनी । सायद यो झर्काइ अनि रिसाईमा पक्कै पनि मेरो माया धेरै होला । विश्वासी ! अब म आउँदैछु फर्केर तिम्रा ति प्रतिक्षा, निश्चल माया अनि सपना साकार पार्न । तिम्रो विगतका मायाको यादले नै त म यो सात समुन्द्र पारीको देशमा ५० डिग्री सेन्टिग्रेटको घामको पनि प्रवाह नभएको । घामको ताप अनि मरुभूमिको राप नभनी मैले तिमीहरुको इच्छा आकांक्षा पूरा गर्न नै आएको हुँ । विश्वासी तिमी एकमात्र मेरो साहारा प्रेरणाको स्रोत हौ । तिमीले जुन म माथि विश्वास राखेकी छौ, मसँगै जीउने मर्ने सपना देखिकी छौं मलाई राम्ररी थाहा छ त्यसलाई मैले साकार पार्नु छ । कैयौँपल्ट म विरामी भएँ जुन तिमीलाई नभनी यत्तिकैमा विताएँ । तिम्रो मुस्कानले नै मेरा लागि संसार जित्ने प्रेरणा थपि दिन्छ । केवल यही एक दिन नै त बाँकी रह्यो तिम्रा सम्पूर्ण तृष्णा मेट्न, तिम्रा निश्चल माया, प्रतिक्षा अनि साँचो प्रेमको उधारो तिर्न, तिमीलाई भेट्न । साँच्चै आज कत्ति चञ्चल अनि कत्ति व्याकुल छ यो मन, आजभन्दा पहिला कहिल्यै यस्तो भएको थिएन ।

ओहो ! बेलुकीको ९ बजिसकेछ । छोरीलाई किनेका खेलौना, विश्वासीलाई किनेको मोबाइल अनि घडी, दिदीलाई किनेको गहना अनि बुबा र आमालाई किनेका लुगाहरु मिलाउनु छ । आफ्ना लुगाफाटा र सम्पूर्ण आफ्ना गुन्टो कस्दा–कस्दै रात वितेको पत्तो नै भएन छ मलाई । यो कतार राज्यको अल्खोर भन्ने ठाउँ जुन कतार राज्यको राजधानी दोहाभन्दा धेरै लामो दूरीमा छ । घर बनाउने काम, त्यो पनि बाहिर घाममा यो ठाउँमा पुग्नेलाई नै थाहा होला यहाँको वातावरण अनि हावापानी कस्तो छ भनी । यहाँ जब तातो हावा बहन थाल्छ मेरो गाउँघरमा बहने चिसो हावाको याद आउँछ । यो चैतको महिना बसन्त ऋतुको आगमनसँगै अहिले त झन आहा ! कत्ति चिसो हुरीबतास चल्दै होला मेरो गाउँमा । कहिले पुग्ने हो म मेरो गाउँमा लौन ? यो ठाउँमा मैले कसरी २ वर्ष विताएँ ? कसरी एक÷एक रियाल (कतारी रुपैयाँ) मा मैले मेरो दिदी, आमा बुबा, छोरी अनि प्यारी विश्वासीको सुनौलो भविष्य देखेँ अनि कसरी खाई—नखाई साँचे, केवल मलाई मात्र यी कुराको ज्ञात छ । यहाँ आएपछि ३ महिनासम्म हावापानीसँग घुलमिल हुनै लाग्यो । त्यही ३ महिनामा पनि कयौँ पटक विरामी परेँ म । अनि ६ महिना काम सिक्नै लाग्यो । यस्तै तिता—मिठा सम्झनाहरुको आगमन र निगमनसँगै विहान पनि भएछ ।

एकाविहानै मसँगै काम गर्ने साथीभाईहरु सबै कोठा भरी आइपुगे । राहुल, विश्वनाथ, प्रेम र कृष्णमान उनीहरुका आफन्तजनहरुलाई पठाउनका लागि कोसेलीहरुको पोकाहरु बोक्दै । दिनभरी यी साथीहरुसँग विगत २ वर्षसम्म विताएका तितामिठा पलहरुको यादमा विताएँ । बेलुकी ६ बजेको विमानको समय थियो । त्यसैले ४ बजे नै दोहा एअरपोर्टमा पुगेँ । साथीहरु विदाईका लागि सँगै–सँगै आएका थिए । सबैलाई अंगालो हाली गहभरी आँसु बोकी अन्तिम पटक आफूले २ वर्षसम्म पसिना चुहाएको दोहा शहरलाई अल्विदा भन्दै म कतार एअरवेजको जहाज नं. ५९२ भित्र पसेँ ।

विमानभित्र पसेदेखि नेपाल कहिले पुगँुला ? कहिले आफ्नो देशको अनुहार हेरुँला ? कहिले गाउँका साथीसँगीहरुलाई देखुँला ? कहिले छोरी साहसीलाई अंकमाल गरी बोकुँला ? कहिले मेरी प्राणभन्दा प्यारी विश्वासीलाई भेटुँला ? यही कल्पनामा डुब्न थालेँ । यस्तै–यस्तै कल्पनामा डुब्दा–डुब्दै नेपालको विमानस्थलमा विमान रोकेपछिको झट्कासँगै म व्यूँझेँ ।

रातको १० बजेको रहेछ विमानस्थल पुग्दा । विमानस्थलबाट ट्याक्सीमा आफ्नो गाउँतिर लागेँ। रातको ११ बजे घरपुग्दा दिदी, आमा—बुबा अनि छोरी नसुतिकनै मलाई पर्खेर बसेका रहेछन् । घर पुग्नासाथ छोरीलाई उठाई गालामा म्वाई खाई माया गरेँ । अनि आमा—बुबालाई खुटृामा ढोग्दै आशिर्वाद थापेँ । दिदी त झन् अंगालोमा परिन् । एकपल्ट फेरी सबैका आँखा रसायो । कसैले पनि आफ्नो आँसु थाम्नै सकेनौं । एकअर्कामा अंकमाल गर्दै आँसु झा¥र्यौ । मेरा आँखा अब भने विश्वासीलाई खोज्दै थियो । मैले आमालाई सोधेँ, “विश्वासी खै त ?” आमा बोलिनन् अनि मैले दिदीलाई सोधे दिदी पनि बोलिनन् पछि बुबालाई सोधेँ, “बुबा विश्वासी खै भनेको ?” कोहि बोल्दैनन् । सोचेँ पक्कै पनि मलाई झुक्याउन भित्र बसेकी होली भन्दै भित्र आफ्नो कोठामा पसेँ त्यहाँ पनि नभेटेपछि फेरी बाहिर निस्के ।

कोठाबाट निस्के पश्चात पुनः आमालाई सोधेँ, “आमा विश्वासी कहाँ छे भनेको ?” आमाले “पहिला बस, बाबु भनिन्” म बैठक कोठामा बसे अनि आमाले सबैकुरा बेलीविस्तार लगाउनु भो । “बाबु तिम्रो विश्वासीले विश्वासघात गरिन् । हो छोरा तिमी गएपछि ६ महिनासम्म तिम्रा बुबा र म त मेलापात गर्दै ठीक्क अनि तिम्रो छोरी साहसी तिम्री दिदी र पत्नी विश्वासी घरको काममा व्यस्त हुन्थे । तिमी गएको ६ महिनापछि घरमाथिको तिमी र तिम्रा दिदी पढेको विद्यालयमा तिम्री दिदी पनि शिक्षिका भईन् । तिम्रो छोरीलाई पनि त्यही विद्यालय शिशु कक्षामा भर्ना गरी पढाउन थाल्यौँ । तिम्रो दिदीले साहसीलाईसँगै लाने र ल्याउने गर्थिन् । तिम्री श्रीमती घरको कामहरु गरेर बसेकी होली भन्ठाथ्यौँ । तिम्रा बुबा अनि मैले, तर तिम्री श्रीमती त पल्लो टोलको आर्यनसँग सल्केकी रहिछे हामीलाई अत्तो पत्तो नै भएन । हामी विहान १० बजेपछि कोही घरमा हुन्नौँ अनि ५ बजेपछि मात्र सम्पूर्ण परिवारको जमघट हुन्थ्यो । भन्न त पल्लाघरे कान्छीले भन्थी, तिम्रो बुहारीको चालामाला ठीक छैन भनेर । तर मैले कहिल्यै पत्याईन । हिजो मात्र तिमी आउने थाहा पाई तिम्री श्रीमती आर्यनसँगै गईन् ।” म त्यतिबेला होसै नभएको जस्तो भएँ । केहि कुरा गर्नै नसक्ने अवस्थामा पुगेँ । के गर्ने के नगर्ने । छोरीलाई अंकमाल गर्दै सहस्रधारा आँसु बगाएर धक फुकाएर रोएँ । आमा–बुबा, दिदी र छोरी सबै सँगै रोयौँ ।

मनमनै फेरी एकपल्ट उनैका अभिव्यक्तिहरुको यादले सतायो मलाई । उनका ति विगतका शब्दहरु ः “उतै बसे हुन्छ, यहाँको पीर नगर्नु” भनी भनेको, “तपाईं जस्तो श्रीमान सात जन्मसम्म पाउँ” । आदि जस्ता शब्दहरुले मलाई रातभर सताइरह्यो हिजोको रात मैले खुशीको समयको लागि खर्चेको थिएँ । आजको रात वेदनामा वित्दैछ । मनमनै भन्न थालेँ, विश्वासी तिमीले ठूलो विश्वासघात ग¥र्यौ मलाई । एकपल्ट त म मरेँ भने के होला ? जस्तो पनि लाग्यो । तर मैले केहि गरिहाले भने मेरो आमा–बुबा छोरी अनि दिदी सबैको भविष्य के होला ? उल्टो मेरो प्रतिविम्बले प्रश्न गर्न थाल्यो । छोरी साहसीलाई एकटक हेरिरहेँ अनि म मा पुनः परिस्थितिलाई सम्हाल्ने साहस आयो । यो अबोध वालिकाको के दोष ? उसको भविष्य बनाउँनु छ मैले भनी भोलिको नव विहानीसँगै नयाँ जीवनको सुरुआत गर्ने निधो गरेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।