19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आराधना

कविता युद्धप्रसाद मिश्र May 1, 2016, 7:26 am

आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी

वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी

तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी

धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी

भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल

छातीबाट गराऊ दूर जनको दारीद्रय दावानल

के न्यूनू छ यहाँ भएर हत श्री निर्बोध निर्गौरव

आऊ पार लगाऊ देशकन यो तीतो पिरो रौरव

जसको कोमल काखमा ब्यतित भो तिम्रो सबै शैशव

जसको दुःख पिएर बन्न तिमी छौ मानिस जस्तै अब

छोरा भै अभिमन्युका हृदयको राँको अगाडि गर

चोला सार्थक पार आर्तहरूको चाँडो अगाडि सर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।