आमा !
तिमी बिर्सिन्नौ पक्कै
तिम्रो महिमानै यस्तो
अनन्त बर्माण्ड भन्दा गहिरो !
समय र परिस्थितिको प्रहार सहनुको
पीडा लुकाएर
जीवनभर पुग्दो ममता छताछुल्ल पारेरनि
अझ ममता दिइरहन्छ्यौ
तिम्रो महिमाको बखान शेषनागले गर्न सक्दैन
म कसरी गरु ?
आमा !
बेफूर्सदी छन् भगवान
हर रुपमा धरतीमा अवतरण गर्दापनि
अपूर्ण भए भगवान
त्यसैले आमा तिमी बनाइएकी हुन् रे !
मलाई गर्वमा धारण गरेर पीडा सहेकी तिमी
हरपल मेरा हात समाउदै संसार चिनाउने तिमी
आमा !
तिमी मेरो दुःखमा रोयौ
सुखमा हाँस्यौ
मेरो खुशीको खातिर
हर समय आँसुमा बितायौ
प्रकृतिको रुप तिमीले मेरा खातिर
देवका देव महादेवलाई घुँडा टेकायौ
आमा !
मेरा हरेक भुलहरुमा
सम्झायौ , बुझायौ
तिम्रो पिटाइमा समेत कुनै पीडा थिएन
थियो त मार्गदर्शन
आमा !
आमा !
तिम्रो एक ईशारामा
म यमलाई घुडा टेकाउने मृत्यून्जय हनुमान हुन सक्छु
हाँसिहाँसी कुर्समा टाँगिने जिसस बन्न सक्छु
ऐशआराम छाड्ने बुद्धको महानता दोहोर्याउन सक्छु
आमा ! म त तिम्रो अंश भर न हुँ
भन आमा !
म तिम्रो लागि के गर्न सक्छु?