14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पहाडी महिला

कविता पशुपति पराजुली "सालघारी" May 12, 2016, 10:38 am

प्रत्येक बिहान भालेको डाकसँगै

मस्त निद्राका रमाइला सपनाहरू छोडेर

रातको केही पहर बाँकी छँदैदेखि

तिमी बाँच्नका लागि

आफ्नो दैनिक बुहार्तन

सुरु गर्दी हौ ।

प्रत्येक दिन

पोतेरीमा रातो माटो र पानी बोकेर

सिकुवा–दैला लिपपोत गरी

क्षितिजमा उज्यालो देख्दा नदेख्दै

तिमीले अगेनामा आगो बालिसकेकी हुँदी हौ ।

पुसमाघको मुटु काँप्ने

त्यो तुषारे ठन्डीमा पनि

मुटुभित्रको ज्वलनले शरीर तताएर

जाडो र गर्मीको दोसाँधमा सङ्घर्ष गर्दै

अभिलाषी जिन्दगी जोगाइराखेकी हौली ।

कहिले नन्दको घुर्की

कहिले आमाजुको गनगन

कहिले सासूको कचकच

र सधैँजसो जुठो–पुरो भात

कहिले आफ्नै पतिको पनि लात खाँदाखाँदा

हृदयमा जतिसुकै दुःखका भेलहरू बगे पनि

दुई थोपा आँसुहरूसँगै

सबै दुःखहरूलाई बगाएर

ती कलेटी परेका ओठहरूले

खुसीको हाँसो मुस्काएकै हौली ।

तिम्रो अनन्त परिवेश ओगटेको

त्यो विशाल हृदयाकाश

औँसीको रातझैँ

झन् अँधेरिँदै गएको होला ।

तैपनि तिमी

आफ्नो हृदयलाई

अँध्यारैभित्र पनि

आशाका किरणहरू छरेर

हिमालको झुल्के घामझैँ

मन्द मुस्काएकै हौली,

र मानवताको नाममा

दानवताको मार सहेर तिमी

अलिखित नियमभित्रको बुहार्तन

चलाइरहेकै हौली ।

बिहान उज्यालो भुइँमा नखस्तै

डोको–नाम्लो बोकेर

पछेउरीको सप्कोभित्र

दुवै हात कस्दै

ती ढुङ्ग्यान कच्ची बाटोहरुमा नाङ्गा खुट्टाले टेक्दै

तिमी सबैभन्दा पहिले

मेलापातमा पुग्ने गरेकै हौली

तिम्रो वर्षीको बाबुलाई

मेलापातबाट धेरै पटक

सम्झनाको माया पठाउँदी हौ ।

प्रत्येक मध्यान्हपछि

चिसोचुल्होमा

तिम्रो बिहानीको भात पर्खिरहेकै होला ।

तिमी डोकोभरि घाँस

र मनभरि त्रास बोकेर

उकालीओराली गर्दै

काठमाण्डाैं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।