19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निर्विकल्प जिन्दगी

कविता रामप्रसाद प्रसाईं May 19, 2016, 7:05 pm

उम्दो बिहानी

मनभरि उज्यालो बोकेर

बस्तीतिर लागिरहेछ ।

छिचोलिँदो यात्रामा

सौन्दर्यको व्याकरण पढ्दै

ढुङ्गाको मनतिर छिनो चलिरहेछ।

उज्यालिंदै हजारौं प्रहारले

छिनो र ढुङ्गा संगसंगै क्रियाशील रहंदा

टुंडालबाट चोइटिएको चेतना बोकेर

तिम्रा धड्कनमा आस्थाको दियो बलिरहेछ ।

प्रिय,

उज्यालो झर्ने आकाश निर्दोष लाग्दैन भने

शीत बर्सिने रात दोषी हुन झैँ लाग्छ भने

पक्कै पनि तिमी हिंड्ने बाटाहरु

प्रेम, विवेक र सद्भावका हुँदै होइनन्

अन्तमा,

कि मोड्नू तिम्ले बाटाहरु

कि मोड्नू तिम्ले कोणहरु

किनकि

कुवाको भ्यागुतोको संसार कुवा होला

टाउको लुकाउंदै हुटिट्याउं सत्यबाट भाग्ला

हनुमान हुनुभन्दा आफ्नै भरिया भए राम्रो होला

त्यसैले जूनकिरिको पारख गर्नू

शीतको गीत गाउनू

अनि

विवेकको बीउ मन, मुटु र मस्तिष्कमा राखेर हिंड्नू

किनकि

जिन्दगी जिन्दगी कै विकल्प हो

उज्यालो उज्यालैको लागि निर्विकल्प हो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।