19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चढेँ आइफेल !

कविता वासुदेव अधिकारी May 20, 2016, 3:27 am
वासुदेव अधिकारी
वासुदेव अधिकारी

सडक पेटीबाट कति पो देखिन्छ र पेरिस ?

कहाँ गएर सुन्ने राइन नदीको गीत ?

पेरिस घुम्दै गर्दा

घर घरबाट उदाए घाम

अत्यासले घेरिएँ म

प्रश्नै प्रश्नले बेरिएँ म

रहरको नदीमा हेलिएँ

उत्सुकताको छालमा समाहित भएँ

कलाको केन्द्र हेर्नु थियो मलाई

गणतन्त्रको नाभी छुनु थियो मलाई !

विकासको गुदी

स्वतन्त्रताको चमक

सबै सबै देख्न

सबै सबै छाम्न

हुर्रिएर गएँ म आइफेल नजिक

र चढाइको टिकट लिएँ

म आइफेल टावर चढेको

आफू अग्लिन होइन

गफ लाउन होइन

अभिमान गर्न होइन

केवल चुम्न

केवल छाम्न

केवल छुन

सत्यलाई

इतिहासलाई

गौरवलाई !

धरहरा नचढे नि

आइफेल टावर चढेँ म

(लज्जित छु त्यसप्रति)

हेरेँः पेरिसको भव्यता

सुँघेँः इतिहासको वासना

देखेँः वर्तमानको चहक

मोहकताले छोपिएँ म

सुन्दरताले किचिएँ म

र कल्पिन थालेँ

उसको बुढ्यौलीबारे

बुढ्यौलीबाट मुक्त हुन

उपयोग गर्ने औषधिको रसायनबारे !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।