19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अखण्डता

कविता विष्णु न्यौपाने July 8, 2016, 1:36 pm

अनेक भित्र एकता विशेषता छ राष्ट्रको

विशिष्ट भावना टुटे हुने छ घात देशको ।

हिमाल देश हो यही पहाड देश हो यही

तराइ वा कुनै कुना हुँदैन राष्ट्र बेगलै ।।

(१)

कदापि चाहिँदैन भो कि खण्ड खण्ड देश यो

अखण्ड राष्ट्र मात्रले भविष्य बोक्न सक्छ यो ।

म भित्र बोल्छ भावना समष्टि मात्र राष्ट्र हो

म जन्मभूमि खिच्तछु अखण्ड राष्ट्र मात्रको ।।

(२)

बलिन्द्र आँसुमा स्वयम् डुबेर मर्न सक्तिन

म देशकै मलामगै विदेश टेक्न सक्तिन ।

शहीद बन्छु मै स्वयम् बगाइ सिन्धु रक्तको

म प्राण बन्छु राष्ट्रकै अखण्ड देशभक्तको ।।

(३)

चुँडेर राष्ट्रका नसा नवीन बन्छ के यहाँ ?

चिरेर माथ चर्चरी प्रवीण बन्छ के यहाँ ?

अखण्ड जात जातिमा विषाक्त घोल घोल्छ को ?

लडाइ भाइ भाइमा विगूत भस्म घस्छ को ?

(४)

विशाल राष्ट्र कल्पँदै दिएर प्राण आहुति

असंख्य वीर सिद्धिए सहास पूर्ण सन्तति ।

उखेल्न दास ता कयौं विते स्वदेश नाममा

रुवाइ धर्धरी तिनै सपूत मार्छ को यहाँ ?

(५)

शहीद माथि न्यायका अदृश्य चोट बर्सिए

‘महान’ शब्दपुष्पले सधैं पुजेर बिर्सिए ।

असाध्य, आँटका धनी स्वदेश प्रेमका धनी

अमूल्य रत्न कुल्चँदै प्रहार मात्र बर्सिए ।।

(६)

सुझेर स्वप्न भेषका पहाडका मधेसका

हटाइ भेद पस्कियुन् सदैब न्याय एकता ।

लडेर हैन बन्धु भै मिलेर बाँच्नु पर्दछ

हिमाल झैं सधैं सधैं खुलेर हाँस्नु पर्दछ ।।

(७)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।