19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ऐठन

कविता भरत श्रेष्ठ. July 15, 2016, 9:00 pm

खै साथी, केही लेख्न मन छैन, केही बोल्न मन छैन

कति लेख्नु मन नपरेको कुरा,

कति बोल्नु बेथितिका कुरा

मन पर्ने एउटै छैन, मन छुने रत्ति छैन।

त्यसैले गान्धिको तिन बाँदर हुनु राम्रो,

कसैको नराम्रो नहेर​,

कसैको नराम्रो नसुन​,

कसैलाइ नराम्रो नबोल,

यसरी मन बाधेर बसेको धेरै भो,

आफैले आफैंलाइ थुम्थुमाएको धेरै भो,

सोचेको धेरै भो,

कसैलाई एउटा औँलो देखाउँदा चार त आफैंतिर सोझिन्छन नि,

कसैलाई हिलो छ्याप्दा पहिला आफ्नै हात मैला हुन्छन नि ।

तर जसो तसो काबुमा राखेका यी पन्च-इन्द्रिय भन्दा

“छैटौं” पो घाँडो भो,

पाकेको पिलोलाई मलम पट्टिले छोपे जस्तो भो,

कसैलाई नबिझाउने साधु बन्न खोज्दै,

हिलैमा फुल्छ कमल भन्दै,

अनलाइन डम्पिङ साइटमा “सकारात्मक” समाचार खोज्दा खोज्दै,

झन् त्यसैले पो राती-राती ऐठन भो,

सास फेर्नै साह्रो भो, बुद्ध बन्न गह्रो भो

भन्ने कसलाई मन बुझाउने केल्ले

भाडाका सिपाहि बन्दा,

"वीर गोर्खे" को पदकले मख्ख म,

मेरै ‘बहादुरी’को कथाले

भाइहरुको काल निम्त्याउन सफल म,

अनि भाइकै लासलाइ झोली बनाई

"अलख निरञ्जन" भन्न बाध्य म,

यो विवशता हो या मेरो परिवन्द​,

आखिर पैसो नै सबथोक भ​ए’सी,

मानव सेवा नै ब्यापार भ​ए’सी ।

सबेरै-सबेरै पशुवध गर्ने कसाइको धर्म देखेर,

निर्बिघ्न रगतको आहलमा रम्नेहरुको कर्म देखेर,

मन वचन र कर्मले मानव ज्यान जोगाउने कसम धारी

"डाक्टरहरु" लाइ उनै कसाइलाइ बुझाउने मन भो,

कम्तिमा नक्कली सर्टिफिकेट त चाहिन्न राँगाहरुको गला रेट्नलाइ

क्यालगरी, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।