तिम्रो फरियाको फेरमा
मेरा कतिमाना आँसु होलान् / आमा
सिंङ्गान र रालले
तिम्रा सुग्घर क्षणहरु
कति लखेटेका होलान्?
म रुँदा तिमी रोएर तिम्रा सुखद बेलाहरु
म लड्दा तिम्रा सबल उपस्थिति
कति घाइते भए ।
मचाहिँ
जुनजस्तो सुग्घर र सुरक्षित
हिँडिरहें तिम्रो मायाको आकासमा ।
तिमीबाट सास पैंचोलिएर
बजाईरहेछु यो मुरली
यो नन्दन बनमा ।
तिमीले दिएको यो दिव्यवाणीमा
भज्दैछु शिवनाम/ गाउँदैछु देशराग ।
तिमी मेरो शब्दमा
शक्ति हौ
मेरो आत्ममा प्रज्ञा भएर छौ
मेरा हरेक पाईलामा
लक्ष्य भएर छौ
मेरा शरीरका प्रवाहित रक्तकणहरूका
अनन्त श्रोत हौ।
आमा! मैले लेखेका नलेखेका कविताहरूका
आदिम र अंतिम स्वर तिमी हौ।
जिन्दगीको यो पीड़ामय युद्धमा
आमा तिमी
आदि, अनंत, अहर्निश
मेरो सुरक्षा कवज हौ।