सिमाना नाघिरहने
ती हिँडेका पैतला कति धेरै
२४-७ घडीको सुई या
अविरल बगिरहेझैँ
इमिग्रेशनमा पुगेर नठोकुन्जेलसम्म
भिसा नपाउनेहरू लुकिएर छलिएर
जसरी पनि पुग्ने अभिलाषा
मनभरिका सपनाहरु
गन्तव्यमा छ कि भनेर
जतन गरेर पैतलाको धुलो
मेरो देशको भनेर
भेटिएहुन्थ्यो भन्दै नेपाली अनुहार
जहाँ पुगे पनि आफ्नै नेपाली चाहिने
देशकै गफ हाँक्दा आनन्द आउने
नेपालीको मुटुमा
नेपालीकै मुटुको माया
हरेक नेपालीको अनुहारमा
आफ्नै प्यारो नेपालकै छायाँ
आफ्नो जस्तो अर्को देश
कहिले पो हुन्छ र
शरीरको कोष कोषमा भिजेपछि
हिमालयको शीतलता
लालीगुँरासको कोमलता
नेपाली सुगन्ध आउनेलाई
जो कोहीले सोधिहाल्छन्
“हो म नेपाली” नै भन्नैपर्छ
जतिवटा देशमा फेरिएपनि
किनकि
हाम्रो आफ्नै स्वाभिमान छ
आफ्नै माटोको सुगन्ध छ
जुनसुकै मुलुकमा
जुनसुकै कारणले पुगेपनि
देशबाट टाढा कता कता
नेपाली मीठो बोलीरहने
संपूर्ण नेपालीसंग
एउटै नेपालको मुटु छ
एक अर्काको कोशिकामा
एउटै नेपाली रगत छ
मेरो अनुहारमा तिमी हाँस्छौ
तिम्रो अनुहारमा म हाँस्छु
मेरो पीरमा तिमी रून्छौ
तिम्रो पीरमा म रोइदिन्छु
नेपाली नेपाली विचमा
कहिले नछुट्टिने सम्बन्ध छ
एक आपसमा रमाइरहने
मनभरिको भावना छ
लस एन्जेलस