19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

माटोमा सपनाहरू

कविता रामकृष्ण पौडेल "अनायास " August 19, 2016, 1:24 am

टाँसिएको

भित्तामा त्यो तस्विर

म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले

झिनो आशा र सपनाका खातहरू

झोलामा त्यो तस्विर सँगै

यादहरू कैद गरि

म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न

एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा

यो बिन्दु सम्म आइपुग्दा

मेरो देशको हिमाल,पहाड र यो खाडिको

तातो बालुवा हुदै

बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि

दाँत देखाउदै हाँसेका

हिमाल अनि मेरो देशको माटोमा

पसिनाका रंगहरूले रंगाउदै

आज

यो धंाजा फाटेको मरूभुमि टेक्दा

ह्रदय चर्चरी फाटेको छ

अनि मुटुका भित्ताहरू तरंगित हुदा

फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको

त्यो पहाड माथिको घाम,जुन

हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै

आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट

मैले देखेको सपना हराएको छ

मलाइ साहास दिइ आफ्नै खुट्टामा

उभ्याउने मेरा रहरहरू

बालुवासँगै

धुलोको बादलमा बिलिन हुदा

आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद

र आँखाको डिलबाटबर्षेको आँसुको लागि

बाँच्नु पर्छ म

हो बाँच्नु छ

मैले असंख्या रहरभित्र

हराएको उधेश्य खोज्न

निर्लिप्त सुतेका समतल भूमिमा

चिहाएर जुनको उज्यालोमा

जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान

तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू

अव मेरो शरिरमा धमनि र शिराहरू बाट

एउटा उर्जा दिने छ

हावाको वेग सँगै सपनाहरू उमारेर

मरूभुमिमा क्याक्टसमा फल फलाउने

आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई

रोक्ने छु ।

फर्क

उठाउ खिया लागेका औजार अनि

रोप आफ्नै माटोमा सपनाहरू

पगाल परिश्रमले ती हिमालहरू

अनि उज्यालो पार धर्ती

खर्कमा चौरी पर्खिरहेका छन्

बेसिमा लहलह फलहरू झुलिरहेका छन्

मैले त अठोट गरिसकेँ

छिट्टै आउदैछु आमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।