17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपथग्रहण

हास्यव्यङ्ग्य सिल्लीराम August 19, 2016, 1:29 am

(व्यङ्ग्य कविता)

डट्डट् डट्डट् को पुत्र

डट्डट् डट्डट् को पोइ । सरी पति ।

डट्डट् डट्डट् ........... डट्डट् डट्डट्

चारपाँचलाइन डट्डट् डट्डट् को पिता

यो देशको सवभन्दा ठूलो बेरोजगार प्राणी ।

स्वास्नी, छरछरी, नातागोता,

आसेपासे र अन्य अखडम् बखडमप्रति

पूर्ण बफादार रही

सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु ।

पल्लाघरे कुलदेउताको नाममा कसम खान्छु कि,

हाम्रो ग्याङ र गुटमा निहित रहेको

खिचातानी, झैझगडा, तिगडमबाजी र खुराफातप्रति

पूर्ण बफादार रहँदै

‘मुल-भान्छे’ पदको कामकाज गर्न चाहन्छु ।

प्रचलित भान्छा सम्बन्धी कानूनको अधिनमा नरही

यस भान्छामा आश्रित तमाम भातमाराहरुलाई वास्तै नगरी

लाज र घिन, इज्जत र इमानको डरै नमानी

पक्षपाती र पूर्वाग्रही भावना लिँदै

बेइमानी र बदमासीपूर्ण तरिकाले भान्छा सञ्चालन गर्नेछु ।

भान्छेमण्डलका विजातीय सदस्यहरुलाई

नून लाग्या नलाग्या चाख्न, दुनामा झोल दिनेछु ।

भान्छेमण्डलका स्वजातीय सदस्यहरुलाई

पाक्या नपाक्या चाख्न, टपरीमै चौटा दिनेछु ।

जन्तालाई जन्तिजस्तै व्यवहार गर्नेछु

जन्तेबाख्रोको खल्लो झोल जति जन्तिलाई दिनेछु ।

हड्डी र छालाका टुक्रा चाहीँ आसेपासेलाई दिनेछु ।

फिला र ह्याकुलाका चौटाजति आफ्नै भुँडी भर्नेछु ।

भान्छागृहको गतिला गतिला भाँडाकुँडा

पछाडिको ढोकाबाट विस्थापित गराउनेछु ।

भण्डारगृहको गुणस्तरीय जिन्सीहरु

आफ्नै गुट र ग्याङको भण्डार भराउनेछु ।

बाक्लो दालमा घिउ झानेर ओरत्रको जन्तिलाई भान्छा गराउनेछु ।

नून-पानी थप्या दाल हालेर, माम्री लाग्या भात, परत्रका जन्तिलाई दिनेछु ।

भान्छे-कर्म गर्दा-गर्दै, रुघा-मर्की लागेमा पनि, विदेशी अस्पतालमा जानेछु ।

विदेशी भ्रमणटोलीमा, ५ जनाले हुने भए पनि, ५० जनाको जन्ति लानेछु ।

भान्छे जागीरको म्याद, सकभर लामो तन्काएर झुलाउनेछु ।

बढी तन्केर म्याद चुँडियो भने, आर्को भान्छेमण्डलीसंग साँठगाँठ मिलाउनेछु ।

साँठ र गाँठ मिल्यो भने, अर्को म्यादको भान्छे हुन,

फेरि, नाइस टु मिट यू गर्नेछु ।

भान्छाभित्र रहे खटपट गरिरहनेछु ।

भान्छाबाहिर रहे छटपट गरिरहनेछु ।

यो म्यादी जागीर खाँदा वा त्यसपछि पनि

बलबुताले भ्याएसम्म जालझेल र छलकपट गरिरहनेछु ।

सक्कल बमोजिम नक्कल ठीक छ ।

अक्कल बमोजिम चप्पल ठीक छ ।

दुवै कान देखिने हालसालै खिचेको फोटो,

त्यो पंक्तिको पल्लोछेउमा झुण्ड्याउनेछु,

नौ महिनामा पिन्सिन पकाउनेछु ।

सत्ताइस महिनापछि फेरि सपथ खान आउनेछु ।

साक्षी फड्के किनाराका सदर ।

इति सम्वत् २०७३ साल भाद्र मासे गाइजात्रा शुभम् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।