बुझेकोको छैन भर्नाबारी र बुनुको बाबुले
मेक इन इण्डिया र डिजिटल इण्डियाको कुरा ।
हरेक बिहान
जब साइरन बज्छ
इच्छाहरू बन्दकी पर्छन् र
विवशताको रागमा जिन्दगीको सरगम मिसिन्छ ।
जान्दैन राजधानीले कस्तो सपना देख्छ
राजधानीको सपनामा
कतिमाना उसको सपना होला ?
बेड टीको स्वादसँग
जब राजधानीले आङ्ग तन्काउछ
भर्नाबारी र बुनुकोबाबुको आङ्गभने बेसकन दुख्छ
दिनभरिको मेहेनत र थकाईले
थिल्थिलिएको रोगी शरीरले
चाख्न पाएको छैन जिन्दगीको स्वाद यो ठाउँमा।
नारा आउँछ
जुलुस आउँछ
मेनिफेस्टो आउँछ
तर जीवन तंग्राउने औषधि आउँदैन
भोकको आगो निभाउने योजनाको दमकल आउँदैन ?
खुट्टामा दासत्वको सांगलो बाँधिएका धेर श्रापित सिसिपसरू
भोक र रोगको खर्क चरिरहन्छन्
क्रूसीफाई येसु यो विपत्तिको कलवेरी चहारिरहन्छन्
उन्मुक्तिको ढयांग्रो बजाउँदै
विसन्चो यो ठाउँको खड़को काट्न आउँदैन कुनै बिजुवा ।
भर्नाबारी र बुनुको बाबुलाई
जिन्दगी भनेको
एउटा श्रापमात्र छ ।