14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बुद्ध उमार्ने अभियान

कविता होम सुवेदी August 18, 2016, 1:00 pm

एक पटक उम्रिएको बुद्धले हामी अघाएनौ

किनभने हामी बुद्धवादी हौं

बुद्धवादी भएर पनि

हामीहरु आधुनिक युद्धवादी हौं

हामीले बुद्ध खोजेको धेरै भयो

नपाएपछि अब हामी बुद्ध उमार्ने अभियानमा छौैं

हामी बुद्धबादीहरु

हामीबाटै हराएको बुद्ध खोज्ने युद्ध लड्दा लड्दा

अब त थाकि पनि सकेका छौंं

अब ता पाकि पनि सकेका छौं

बोधिवृक्षमुनि तपस्या गर्न आउला भनेर कुरेको पनि धेरै भयो

बोधीवृक्ष पनि काठतस्करको हात गइसक्यो ।

अब ता बुद्ध यसरी यहाँ पनि आउने रहेनछ

बरु नयाँ बुद्ध रोप्नु पो पर्ने रहेछ

बुद्ध उमार्ने मलिलो माटो पो बनाउनु पर्ने भएछ ।

यत्रो प्रयास गरेर पनि खै त हाम्रो बुद्ध उम्रिएको

यत्रो खोजी गरेर पनि खै त हामीले बुद्ध पाएको

हामीले बुद्ध उमार्ने मलिलो माटो बनाउँदा बनाउँदा

बिकीरणको धुलो उड्न थालिसकेको छ

आधुनिक बुद्ध रोप्न पनि

परमाणु ऊर्जाको खाँचो हुँदैछ

यी उपाय गरेपछि भने

अब बुद्ध उम्रने आश प्रबल भएको छ

हामीहरुको हौसला सबल भएको छ ।

हुन सक्छ मित्रहरु,

हाम्रो बुद्ध फेरि चाँडै उम्रदैछ

मिसायल काँधमा हालेर

प्वाइजनस ग्यास हावाभरि छर्दै

हातमा न्युटन बमको आशीरवाद बोकेर ।

हुन सक्छ मित्रहरु,

चाँडै यहाँ बुद्ध जन्मनेछ, चाँडै यहाँ बुद्ध उम्रनेछ—

हिट्लरको कान्छो छोराको रुपमा

हिरण्यकशिपुको जेठो छोराको रुपमा

अथवा कुनै न कुनै रुपमा

यहाँ बुद्ध उम्रिएरै छाड्नेछ ।

हाम्रो बुद्ध जहाँ पनि उम्रन सक्छ मित्रहरु,

हुन सक्छ यो युद्धको मैदानमा जन्मियोस्

हुन सक्छ हाम्रो बुद्ध

आणविक भट्टीमा उम्रोस्

हुन सक्छ मित्र

हामीले जन्माउन खोजेको बुद्ध

इरान, इराक, अफगानीस्तान र पाकिस्तानमा जन्मोस्

यो जे जसी जहाँ पनि जन्मन सक्नेछ

लिट्टे, आइएस आइ, बोकोहराम भएर जन्मन सक्नेछ ।

हिजोकै बुद्धबाट हामी पनि अघाइसकेका छौं

नयाँ बुद्धका लाग िहामी पनि ठाउँठाउँमा धाइसकेका छौं

खुमेनी बुद्धका शान्तिसन्देशहरु

जियाउल हक बुद्धका उपदेशहरु

रेगन पुटिन र गोर्भाचोभका सन्देशहरु

सुन्दा सुन्दा हामी पनि त वाक्क भइसकेका छौ

यसैले मित्र हामीलाई पनि एक नयाँ बुद्ध चाहिएको छ

आजका साना बुद्धहरु

जो युद्धको धुनी जगाएर

समाधिमा लीन छन्

तिनीहरुदेखि हामी अघाइसकेका छौं

आजका सीताहरु जो लाममा छन्

पाठेघरको सफाको लाममा

त्यस्ता सीताहरुदेखि पनि हामी अघाइसको छौं

आजका सुकरातका रुपमा आएका बुद्धहरु

अन्तरिक्षको गाथा गाउनमा लागिरहेका छन्

आजका वाल्मीकिहरु

नयाँ बुद्धको रामायण लेख्न पििर्खरहेका छन्

अन्तरिक्ष गाथा लेख्न लागिरहेका छन् ।

यसैले हामी पछि परिसकेका छौं

अब हामी पनि चुप बसेर हुन्न

एउटा न एउटा बुद्ध नउमारी हुन्न ।

यसैले आओ साथी हो ।ं

भोलिलाई चाहिएको बुद्ध उमार्न

झोली थाप्दै गुहार मागेर हात पसार्न

मागौं बडो सम्मानका साथ—

ए, बुद्धवादीहरु,

बुद्ध उमार्न चाहिने अलिकति इन्धन हामीलाई पनि दिन्छौ कि ?

तारापुरका लागि ल्याइएको

वम निर्माण गर्ने ऊर्जा

अलिकति हामीलाई पनि दिन्छौ कि ?

रुसबाट पोल्यान्ड पुगेको विकीरण

हाम्रा नारीहरुलाई खुवाएर पनि

हामीले बुद्ध उमार्न सकेनौ

म्यान्डेक्स, हेरोइन, ब्राउन सुगर खुलाएर पनि

हामीले बुद्ध जन्माउन सकेनौं

हाम्रै यार्सागुम्बा खुवाएर पनि हामीले

बुद्ध रोप्न सकेनौ

यसैले—

हामीलाई बुद्ध उमार्ने ऊर्जा चाहिएको छ

यसमा तिम्रो पनि हक हुनेछ

हाम्रो पनि हक हुनेछ

यसैले मित्रहरु,

बुद्ध जन्माउने विष्फोट, बारुदहरु

अलिकति दिन्छौं कि ?

किन हो बुद्ध नउम्रेको

बुद्ध रोप्ने माटोको अलिकति परीक्षण गरिदिन्छौ कि ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।