19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हल्ला

कविता रुपेश राई August 25, 2016, 1:33 pm

हैट... यहाँ केको हल्ला ?

हल्लाको हल्ला हो कि गल्लाको हल्ला ?

नगर्नू हल्ला, चुपचाप भर्नू गल्ला

फेरि चियोचर्चामा पर्ला

अनि थाह पाउला, हल्लाको हल्ला !

आजकल यस्तै लाग्छ

मानिस सबै ‘हरे’कै पछि भाग्छ

कुन्नि कताबाट आयो यो रोग

मेटिँदैछ अस्तित्तिवको भोक

बरु जान्छ हानिएर कताकता लोक

हुन्छन् बैँस र सपनाको भोग !

त्यसैले भएको रे तिमी सबैको बा

कत्ति अप्ठ्यारो जहिले नि बा !

हान्यौ रे नि एक फुट मुनि जातिलाई

पीर पर्ने भो छोरा-नाति, खनातिलाई

भोकले कुरा गर्छ जातिको

सोखले सेवा गर्छ छोरा-नातिको

भोगले पारा बिग्रिएको छ है साथीको...

किन गर्दैनौ कुरा रित्तिएको मानु पाथीको

बोल्नु पनि कत्ति बोलेको तिमी

नाथु ! जाऊ खान भोलाको आलु र मिमी !

पहाडको चिऽसो वातावरण

बिस्तारै हुँदैछ गरिबको भोकहरण

रू. १०/- को मोमो , ३० भयो

भेजमा पनिर ननभेजमा मासु कम्ति भयो

प्रकार-प्रकारको आन्दोलन गर्‍यो

तर गरिबलाई लुट्ने नै प्रमाण भयो !

कतातिर कस्दैछ सामानको दरभाउ ?

बल्झिएको बल्झिएकै छ श्रमिकको घाउ !

घाउमा नलगाऊ तिमी दाउ

कि त आऊ कि त जाऊ...!

कि त आऊ कि त जाऊ

घरिघरि हाम्रो दिमाग नखाऊ

ऊकहाँ गएर हाम्रो माग भट्ट्याऊ

फत्ते गरेर जातिको मर्यादा बचाऊ !

यहाँ सकिँदैछ अलिअलि माटो

चिनीले बनाइसक्यो आफ्नो बाटो

चुस्नु पनि हामीलाई जानेको

कहाँ छ घाउ! खोजीखोजी त्यहीँ हानेको !

दुख्नु दुख्छ घाउ ! च्वाट्ट च्वाट्ट हान्ने गरी…

कलमले रेटिसक्यो जात र जाति, नजोड्ने गरी !

तिमीलाई थाह छ ?

ढिलो हुँदा छोरो हुन्छ

साह्रै ढिलो हुँदा मोरो हुन्छ !

सक्दैनौ भने उठाऊ हात

जनताले कस्छन् बाँधिएको लात

त्यतिबेला पीडामा ‘आया..’ भन्नु शब्द राख

जतासुकै बहुलाजस्तो घरिघरि नभाक !

बरु जाऊ चिनीमा डुबेर मर

हामीलाई तिम्रो केक भर

गर्दैनौ पनि साह्रै कर

उल्टो लागिसक्यो डर

बिग्रेको मान्छेको भत्किएको घर !

शिक्षा, स्वस्थ र घर सबै खस्किँदैछ

आजकल दिदी साह्रै मस्किँदैछ

भो ! बेसी नफुकन तिमीले

थाह छ! पहाड सकिँदैछ चिनीले !

चिनी नखानू ! भनी नुन खुवाउँथे धूर्तले

नुन खायो ! दिमाग गलाउँथे मूर्खले

गलेको दिमाग छ, यसैले त ठगिन्छ

चिनीको सामु नुन कहाँ तगिन्छ ?

घोर गरी सोच्नू तिमीले

सबै मधुमेह भइसक्यो चिनीले

जाति भाषा एउटै हामी

लडेको हेर कत्ति दामी !!

लड्नु पनि गति छाडी लडेको उसकै सामु

पार लाग्दैन दशा, झाँक्री भएर जतिसुकै कामु...

फुटेको हेर छर्ल्याम्म सिसा

अब डर छ कतै जाने बनाइदिन्छ कि दिशा

दिशा पाएर हामी जन्छौँ परदेश

उनीहरूले आफ्नो बनाउने भो हाम्रो घरदेश !

तिमीलाई थाह छ बाजे ?

कसले गर्‍यो यस्तो गाजे

कुरा नबुझ्ने तिमी-हामी नै भयौँ

भीर छ त्यता नजाऊन् भन्दा हामी त्यतै गयौँ

लड अब वीरबहादुर लड

कति के रहेका छन् सबै तोड

लड अब वीरबहादुर लड

कत्ति के रहेका छन् सबै फोर

कत्ति के रहेका छन् सबै फोर !!

पेशोक, दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।