के भनौँ साथी ! देशको हाल
यहाँ केहीको छ मालामाल
धेरैको बेहाल ।
कसैको मुखमा छैन माड
कोही धोक्छन् रक्सी र जाँड
कोही हिँड्छन् कारैकार
कसैको काँधमा भारैभार
विषम छ साथी देशको हाल
केहीको मालामाल, अरु सबैको बेहाल ।
बिहान–बेलुकी चुलो रित्तै
के पाइन्छ र यहाँ सित्तै
रूख खोजौँ वन खाली
लकडी चोरहरु वनका माली
यस्तै छ सधैँ देशको हाल
त्यस्तै त्यस्तैको मात्रै कमाल
धेरैलाई भने जिउँदै आउँछ काल ।
वाक्स्वतन्त्रताको नारा दिएर
साँचो बोल्नेलाई कानुनले समाउँछ ।
दुई नम्बरी धन्दा गर्ने जति
ताली पिटेर रमाउँछ
कोही खेल्छन् रात दिन जुवा र तास
धेरैको छैन एक छाप्रो बास
बिग्रेको छ साथी मेरो देशको हाल
न तेरो न मेरो
कसैको भएन कमाल
बिग्रेको छ साथी हामी सबैको हाल ।
झूटो कुरा पनि
पैसाले सावित गरायो
न्याय नपाए गोरखा जानू
भन्ने उखान हरायो
पप र डिस्कोले सँस्कृति मिचियो
गरिब जति उठ्नै नसक्ने गरी थिचियो
अब के भनौँ समाजको हाल
यहाँ कतै कुखुराको चाल, कतै गधाको चाल
खै बताऊँ के देशको हाल
बनिरहन्छ आफ्नै बेहाल ।
घर–घरमा डिस्को डान्स
आधुनिकताको निशाना
कहिले पुग्ने हो जनताको चाहना
जताततै ह्विस्की र रम
टार्नै नसकिने भयो यो देशको गम ।
सुन्दरीहरू देखे सबैले च्याँखे पार्ने
अरूहरूलाई चिप्ला वचनले टार्ने
कोही लगाउन खोज्छन् सधैँ झिँगे दाउ
तिम्रो हाम्रो यहाँ साथी के हुन्थ्यो र भाउ
भैगो नलिऊँ अब देशको नाउँ
पाए खाऊँ नपाए मरेर जाऊँ
यस्तै छ साथी देशको करुण–कहानी
उडेको छ सारा देशको जवानी ।
शक्ति हुने नेता जति कुर्सी मात्र ताक्छन्
शक्ति नहुनेहरू जति कुर्सीको लागि रक्सी र बोका भाक्छन् ।
कोही–कोहीको एक रातमै मालामाल
अरू सबैको जीवनभर बेहाल
यस्तै छ साथी मैले देखेको देशको रूप
सुनेर बस्छस् कि तैँ पनि चुप ।
यहाँ बोल्नेले बोल्यो कि पोल्यो, गोली खान्छ
गोली हान्नेले गोली हान्छ र आफूले होइन भन्छ
रातदिन रक्सी खान्छ म्यारिज खेलेर अल्टर तान्छ
अभियोग लागेर आए डलरले झटारो हान्छ
कालो बजारिया, जँड्याहा, घुस्याहा सबै मालामाल
अरू जनताको कहिल्यै आएन काल ।
यस्तै छ देशको हाल, नभनूँ कसरी सधैँ–सधैँ छ बेहाल
भनूँ त सधैँ ताल न बेताल
न तिम्रो न मेरो सुध्रेको छ चाल
यस्तै छ साथी हामी सबै जनताको हाल ।