19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अजिंगर र सपना

कविता अबीर खालिङ September 2, 2016, 6:37 am

सपना तुहिएर सकिएपछि

बाँचेजस्तो गरेर जिन्दगीलाई

कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ?

जिन्दगी भनेर समयले थमाइदिएको

यो शोषण झेल्ने श्वास-यंत्रलाई

कुन औजारले मरमति गरेर राख्नु ?

भग्नांशमा बाँचेको रहल जिन्दगीलाई

कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

हरियो यो शोषणको नदीमा

कति बगे हाम्रा रहरहरू

कति बहे हाम्रा बल र वैंशहरू

हाम्रा सामर्थ्य र ऊर्जाहरू ।

हरियो यो नदीमा

डुबेर मरे हाम्रा बाबु–आमाहरू

हाम्रा आफन्त र सहोदरहरू ।

आत्महत्या गर्न विवश छ सँधैं

हाम्रो आकास

यही हरियो नदीमा ।

पसिना रोपेपछि सपना फुल्नु पर्ने

मन दिएपछि ममता हुर्कनु पर्ने

तर अहँ

यो थारो ठाऊँमा

चुहुने छाप्रोले हाम्रो निद्रा भङ्ग गराउँछ

रित्तो थालले गाँसको व्यंग्य गर्छ

पसिनाको त्यो ज्यालाले

हाम्रो चूल्हाको खिल्ली उड़ाउँछ ।

सुकिला वस्त्र पहिरिएर

पाठशाला जान सक्दैनन् हाम्रा सपनाहरू

बढ़ेर आउँछ छाल नदीमा

अनि हाम्रो सपनालाई आधा बाटोबाट बगाउँछ

दैवले जुरयाइदिएको आहार सम्झेर

त्यो अजिंगर बेसकन रमाउँछ ।

रगत चुस्न जानेपछि

पल्किएर पल्टेको छ घाम ताप्दै त्यो सरिसृप

हाम्रो सपनाको बाटो छेक्दै।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।