19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नारी सार्वभौमिकता

कविता सञ्जु बजगाईं September 2, 2016, 6:42 am
सञ्जु बजगाईं
सञ्जु बजगाईं

केही सपनाहरु

बुनेर बाबुका काखमा,

ब्युँझन नभ्याउँदै

पराया मझेरीहरु लमतन्न अगाडि

दागा धरुँलाझैं

बिष पोखुँलाझैं

सगुनका नाममा

दियोमा आगो सल्काएर भित्र्र्याउँन तैयार हुन्छन्

मेरो अलिखित नारी सार्वभौमिकता

पुरुषत्वको पराया साम्राज्यमा !

‘पेट्रियार्की’ समाजकी अंश म

‘कोलोनी’ बनेर जीवनभर

अर्कैको साम्राज्य धान्नु पर्ने

जहाँ अर्कैले बनाएका ‘पोलेसी’

अनन्तकालसम्म मान्नु पर्ने

साम्राज्यवादमा समानताका के कुरा ?

लेख्दा–लेख्दै छोडिएका

स्वतन्त्रताका आफ्ना कथाहरु

बाबुको बुईंगलमा थन्क्याएको

थोत्रो कन्तुरभित्रको उकुस–मुकुसले

सास निमोठिएरै मर्नु पर्ने

न समानता न त स्वतन्त्रता

नाराबाजीमा थेगो उही– एक रथका दुई पाङ्ग्रा!

पाङ्ग्राका अमूर्त कुरा

अर्थ पहिल्याउन सक्दैन– मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !!

परायाले हडपेको

मेरो अलिखित नारी सार्वभौमिकता,

कहिले एक थान नयाँ सारीमा

कहिले एक दर्जन चुराहरुमा

कहिले झुम्के बुलाकीमा

कहिले तिलहरी र नौगेडीमा

सन्तोष मानेर हाँसिसदन्छ

दिल खोलेर नाँचिदिन्छ

परन्तु

क्रुद्ध, असाध्यै क्रुद्ध छन् आजभोली

बक्सिसमा मिलेका मेरा सोह्र श्रृगारहरु

चिहाएर मेरै सुन्दरताको कुनोबाट

गिज्याउँछन मलाई दिग्भ्रमित पारेर

र सोध्छन् परिभाषा– ‘व्यक्तिगत गरिमा’को

उत्तर छैन मसँग

तर ज्ञान छ– मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !!!

साम्राज्यवादीे सोंचको साँघुरो घेराभित्र

सुली चढाईएका मेरा अभिदानहरु

मूल्यहीन छन् यसबेला

बरु उपमामा दिएका बग्रेल्ती शब्दहरु

लहर बनेर निरन्तर,

उछालिन्छन् मेरा पैतालाका परिधिहरुभित्र

अनि ब्याख्या बनिदिन्छु म तिनै उपमाहरुका;

सीताझैं सत्य,

समुद्रझैं शान्त,

धर्तीझैं अटल,

चट्टानझैं मजबुत,

स्नेहकी खानी आदी...ईत्यादी

थापेर साक्षी आग्नीज्वालाको

कर्म डोर्याउने जिम्मा पाएकी छु

स्थायी नोकरीको मजबुत ‘कन्ट्रयाक्ट’झैं

म के चाहन्छु ? बहिरा बनिदिन्छन् सबै

मात्र म सुन्दछु

तर सुन्दैन साम्राज्यवादी– मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !!!!

क्षितिज पारीसम्म खुल्ला छ

सीमाहीन त्यो निलो आकाश

किन सीमा तोकिएका छन् मेरा आँखाहरुलाई ?

स्वतन्त्र बहने अदृष्य त्यो बतास

पोखिएको छ अथाह

किन नापेर भरिन्छन् मेरा फोक्सोहरु ?

केही ‘ईन्ची’मा उभिन्छु हरपल

टेक्ने धर्ती ‘फिफ्टी प्रसेन्ट’ प्रकृति प्रदत्त

रपनि,

किन खिचिन्छन् लक्ष्मणरेखाहरु ?

साम्राज्यवादीहरुका ‘माईट्रोकन्ड्रियाहरु’

किन यति सशक्त हँ ?

तिनकै आदेशको भारी उठाएर

दशआंैलाका आकारहरु त

मेरा पो परिमार्जित भएका छन्

तिनले तोकेको बाटो हिडेर

पैतालाका कोषिकाहरु

मेरा पो खिईसकेका छन्

मलाई कहाँ बिझाउँछ

मुटु मेरो जान्दछ

के जान्दथ्यो माईटोकन्ड्रिया– मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !!!!!

मेरा ‘भाईटल अर्गान’हरु कमजोर भनिन्छन्

शहिदिएर पनि कयौं प्रताडना

ब्याख्या गर्ने बनाईएका साम्राज्यवादी ‘फम्र्याटहरु’

हडप्दै हिड्नमा उद्यत भएपछि,

आफ्नै पहिचानको हत्या गरेर यहाँ

बाँच्ने नियती आदिमकालीन भैसक्यो

दोष कसलाई दिनु ?

उही मेरै ‘माईट्रोकन्ड्रिया’हरुलाई

सम्राज्यवादीको साम्राज्य धान्ने ‘एटीपी’ उत्पादन

रोक्नु पथ्र्यो र भरिनु पथ्र्यो

मेरा विचारहरुका शक्तिशाली कोषिकाहरुको मजबुतिमा

सप्तरङ्गी सपना देखाउने कोमल कोषिकाको वृद्धिमा

आफ्नै पहिचानमा उभिन चाहने

मेरा एकजोर पैतालाहरुको ‘मसल्स’मजबुतिमा

अनि पो हुन्थे म ‘म’

अनि पो गनिन्थ्यो मेरो अस्तित्व

पहिचानको पीडा पन्छाएर

चलायमान छ साम्राज्यवादी

बुझपचाएर साम्राज्यवाद–मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !!!!!!

चट्याङ्ग पर्दा झिल्किएको बिजुली जस्तो

केही झिल्का देखिदैमा

सिङ्गो नारी सार्वभौमिकता स्वतन्त्र भएको

आक्कल–झुक्कल शंखनादहरु

सुनिदैछन् बजारहरुमा

खबरदार,

ती प्राकृतिक स्थायी होईनन्,

न त परिवर्तनका प्रतिनिधि

हुनत केवल साम्राज्यवादमा,

देखा परेका परिमार्जित रणनिती

ईन्कार गर्छु म तिनको रणनिती

म ‘म’ मात्र नभएर

सिङ्गो नारी सार्वभौमिकता हुन चाहन्छु

जहाँ, चाउरी परेका नाकका बुलाकीहरु हाँस्न सकुन

रङ्ग खोसिएका रङ्गहीन अनुहारहरु पुनः रङ्गिन हुन सकुन

च्यातिरका फरियाका पल्लुहरु

नयाँ मोहराले टालिन सकुन

बाह्रहाते पटुकीले बेरिएका दापे कोखहरु

सन्तानको संवृद्धिले फुल्न सकुन

भर्खर फुल्न लागेका कन्या कोपिलाका

पत्र–पत्र खुल्न सकुन

समग्र सम्पूर्ण नारी हकहरु

बिना शर्त हस्तान्तरण हुन सकुन ।

अविलम्ब नहोस्

स्वतन्त्र गरियोस्– मेरो बन्धक परेको अलिखित नारी सार्वभौमिकता !

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।