14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गृहवुद्ध

कविता विक्रम सुब्बा September 2, 2016, 1:53 am

गृहवुद्ध – १

सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै

मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा

स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु

धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा

मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु

कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो

तकदीरको थालीमा थपक्क थापेको सम्झन्छु

पर्देशलाग्दा बाटो-खर्च हालिदिने अञ्जुली सम्झन्छु

चिताएको पुगोस् भन्ने आमालु-मंगल-धुन सम्झन्छु

थकित पाइलामा फर्कँदा साँझ, मेरो सहस्रारचक्र[1]लाई

ब्रह्माण्ड-उर्जासित जोडिदिने कुशल हात सम्झन्छु

सम्झनामा मिस्सिएका आमाका अक्सिजन-सम्झनाहरू

घरकै निक्खुर पानी-माटोमा शान्ति-जमरा उमारिरहेछन्

आमाका औँलाबाट आज्ञाचक्र[2]मा अर्पित आशिष-अक्षताहरू

शान्ति-शेना भएर गौँडागौँडामा तैनाथ छन्, म चाहान्छु कि -

ममताको यही गृहवुद्धका वातीले तरवार-दीयो बालिरहोस् ।

गृहवुद्ध - २

पत्नी-प्रणयको पटकथा मगज-पर्दामा जसै उत्रन्छ

जवानी रोमान्समा खेलेको भूमिका सम्झन्छु

प्रतिक्षाका मोडमा सुनिईने सुकोमल-गीत सम्झन्छु

पिरती नाचेर नथाक्ने मारुनी-मनहरू सम्झन्छु

मुटु-कलेजोनै बाटिने बाहु-बन्धन सम्झन्छु

रैथाने-शास्त्रको ध्वनी गुन्जित मण्डपमा, तिमी

देवी प्रकट हुँदा चढाएको सिन्दुर-सुहाग सम्झन्छु

पुलिङ्गी-पाखुराका पोते-लच्छीहरूमा तिमीलाई

नारीमा पदोन्नति गरिदिने मंगलसुत्र सम्झन्छु

मधुमासका मदहोस करोड चुम्बनका अग्नी-तापले

स्वाधिष्ठानचक्र[3]मा प्रेम-रस छल्काउँदै-उमाल्दै खाएको

जनम-जनम साथै जिउँने-मर्ने कसम-कबोल सम्झन्छु

ऋणको उजाड जमीनमा जोस-भरोसाको पर्खाल हालेर

गृहस्थी जीवन-शिलान्यास गरेको सम्झन्छु

नयाँघर-दैलोले उघारेको चोखो साईत टेकेर

खुशी-खुशी नारिँदै जोरजोर-पाउ-प्रवेश सम्झन्छु

स-साना-सुन्दरकौशी-गमलामा भएपनि, हामीले

आफ्नै मन-मायाहरू रंगिविरंगी फुलाएको सम्झन्छु

सम्झँदासम्झँदै तन्तुतन्तुका तानपुरामा, यो हृदय

राग-मधुवन्ती[4]को आरोह-अवरोहमा झुमिरहेछ

अनाहतचक्र[5]को कुण्डमा पिरतीका चरू जलिरहेछन्

पवित्र-प्रेम-छन्दका मन्त्रले रक्षा गरिरहेछन्,

र म चाहान्छु कि -

दाम्पत्य-जीवनमा ढलोट अटल-प्रेमको घरेलु गृहवुद्धले

अमन-चैनको शान्ती-संग्रामी घण्ट-बिगुल बोजाईरहोस् !!

-----------------------------------------

[1] सहस्रारचक्र: शिरको टुप्पीमा अवस्थित बह्माण्डसँगजोडिएको (सातौँ) चक्र वा महान तन्तु जसको रंग सेतो वा गहुँ गोरो(Crystal) हुन्छ । यसै चक्रकोसहायताले हरेक मानिस ब्रह्माण्ड उर्जा (Cosmos energy) सँग जोडिएको हुन्छ ।

[2] आज्ञाचक्र: दुइ आँखाहरूको विच निँधारमा अवस्थित ज्ञानको (छैठौँ) चक्र जुन बैजेनी रंगको हुन्छ र जसलाई ज्ञानको केन्द्रविन्दु मानिन्छ ।

[3] स्वाधिष्ठानचक्र: नाइटोको ठिक मुन्तिर अवस्थित यौन तथा संतान उत्पादन शक्तीको (दोस्रो) चक्र वा केन्द्र जसको रंग सुन्तले हुन्छ ।

[4] मधुवन्ती राग: प्रणय र प्रितका मायालु रोमान्चक गायनको राग

[5] अनाहत चक्र: निसर्त प्रेमको (चौथो) चक्र वा केन्द्रविन्दुजसको रंग हरियो हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।