19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धुलो टक्टकाउँदै उठिरहेको छु

कविता गोबिन्द छन्त्याल September 8, 2016, 7:11 pm

पढाईरह्यौ तिमीले इतिहास

हिजोदेखि आजसम्मको दपर्ण

राजा, महाराजा एउटै नश्लीय शासकको

एकलकाँटे, एकलव्य र एकमना ।

खुनी इतिहासका पानाहरू पल्टिरहे

इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ

तर,

सास्वत सत्य

परिवर्तनशिलता र गतिशिलताले

समय र परिस्थितीमा कायापलट हुन थाल्यो

तिमी रन्थनिन थाल्यौ

नदी उकालो बगेजस्तो

घडीको सुई उल्टो घुमेजस्तो

हुँदाहुँदा हरेक सजिव र निर्जिव वस्तुहरू

सबैसबै उल्टो देख्न थाल्यौ

बेहोसी अनि पागलपनमा बर्बराउन थाल्यौ

र,

भन्छौ अनि भनिरहेका छौ

मेरो रङ छिमेकीसँग मिल्यो भन्दैमा

साम्प्रदायिक, जातीवादी, विखण्डनकारी, असहिष्णुतावादी, राष्ट्रियताविरोधी

जे–जे भन्न मन लाग्छ, बहुलाले झैँ सबै–सबै...

तिम्रा आरोपहरूमाथि प्रश्न गर्न थालेँ

तिमीले भन्दै आएको पढ्नै नहुने ग्रन्थहरू पल्टाउन र पढ्न थालेँ

जान्नै नहुने मैले मेरा वंशज जान्न थालेँ

र खोज्न थालँे मेरै तस्वीर,

खोज्दा–खोज्दा भेटाउन थालेँ मेरा विस्मृतिहरू

कम्ता खुसी भएको होइन

एक्लै चिच्याई रहेँ...

म बाँचिरहेको पहाड, हिमाल, डाँडा, पाखा र छहराले सुन्ने गरी,

र भन्न थालेँ

तिम्रा व्याख्याहरू सबै भ्रम

तिम्रा लिखोटहरु सबै षड्यन्त्रको जालो

तथ्यहरू सबै छलकपटी

तिमीले देखाएको बाटै गलत

मेरो बाल मस्तिष्कमा भरिदिएको ज्ञान भनिएको ज्ञान त झन

मेरै इतिहास र पहिचान नामेट पार्ने विष पो रहेछ ।

झन् चिच्याएर भन्न थालेँ

इतिहास, भाषा, संस्कृति, पहिचान र आफ्नोपन आजसम्म मैले जे–जे गुमाउनुपर्ने सबै गुमाइसकेँ

अब एक रत्ति गुमाउने छैन

धुलो टक्टकाउँदै उठिरहेको छु

नश्लीय शासकलाई कच्याककुचुक्क पार्नका लागि उठिरहेको छु

पर्याकपुरुक्क र धुजाधुजा पार्नकै लागि उठिरहेको छु

अब म जे गर्दैछु, प्राप्तिका लागि गर्दैछु

प्राप्तिको लडाइँमा होमिदाँ कम्ता खुसी छैन

आफ्नै लागि लड्दाको आनन्द बैग्लै हुदोँरहेछ,

मेरै नाक, कान काटिएको इतिहासलाई खोतल्नका लागि उठिरहेको छु

सदिऔँदेखि धुलो र मैलोमा फालिएको म

धुलो टक्टकाउँदै उठिरहेको छु,

म उठ्नै थालेपछि

मलाई थाहा छैन, तिमी रहन्छौ कि रहन्नौ

तर म, मेरो परिचय, मेरो सेतो धवलागिरी र त्यहाँको हिउँ भने रही... रहनेछ...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।