19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मन र माँटो

कविता मुक्ति गाैतम September 8, 2016, 7:15 pm

घर छोड्दा

आफूसङ्गै थियो

जतनसाथ

आमाले पोको पारेको सातु

धोतीको सप्कोको गाँठो फुकाएर

खुसुक्क खल्तिमा राखिदिएका खुजमुजिएका पैसा

“न बिर्सी है बाबु” भनेर सम्झाएको

मेरो मन।

आँखाभरि थियो गाऊँ

गालामा आमाको चुम्बनको छाप

कपालमा हातको स्पर्शको अनुभुति

आँशु पुछ्दै दिएको दिर्घायू आशिष

झोलामा कपडा पोको पार्दा

अल्झिएको आमाको हातको बास्ना,

सुटुक्क आमाले थाहा नपाउँने गरि

अर्कोतिर फर्किएको

बाको मलिन अनुहार

हौसला।

रहरहरु

सपनाहरु

जीउमा टाँसिएको धुलोको

मिठो गन्ध

कहि कतै कोरिएका

अनगिन्ती आकृतिहरु

बाटोका, घरका.......

मान्छेहरुका।

भेरीको एकोहोरो शुशाई

चराहरुको चिरबिर

नुनको भारीले थिचिएका

च्याङ्ग्राहरुको लाम

बाटोछेउ लागेर उभिएका

नाङ्गा भुतुङ्गा केटाकेटीका

उत्सुक आँखाहरु

घर फर्किदै गरेका पधेंर्नीहरुका

बिदाईसुचक मुस्कान।

बर्षौ भयो

गाऊँ नफर्किएको

धुमिल भएछन् आँखाहरु

ताजा पार्न खोज्छु ति आकृतिहरु

मेरो मानशपटलमा,

छाम्छु यता उता

सुँघ्छु,

न गन्ध

न मिठा अनुभुतिहरु

न बाको हौसला

या आमाको माया

न प्रष्ट आकार,

रित्तो लाग्छ आफू

केहि हराएजस्तो।

घर छोड्दा

जतनसाथ

आफुसङ्गै राखेझै लाग्थ्यो त्यो मन

आमाको हातको बासना

बाको भरोसा

माँटोको गन्ध,

शायद

छुटेछ उतै

या

राख्न नसकिने रहेछ परदेशमा

मन र माँटो आफूसंग।

टोरन्टो, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।