19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

माझी, छाल र जिजीविषा

कविता रामप्रसाद प्रसाईं September 8, 2016, 7:32 pm

कोप्चे भीरको थाप्लोमा

जिजीविषाको ढाकरमा तोक्मा लगाएर

स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा

छालहरुले भन्दै गरेको सुनेः

बोकेर रहरका पहाडहरु

स्यालले सहर पस्दैमा

मान्छेको बस्ती विस्थापित हुन्न साथी।

बोकेर लहरका हारहरु

छेपारोले माच मतान रुँग्दैमा

स्वाभिमानी शिरको ताज पितल हुन्न साथी।

वाकपटुतामा हारजितको मैदान नदेख साथी

हामीलाई नि थाहा छ

रङ्गरोगनमा चम्किने सँसार कति हैरान छ साथी।

बहाव धमिलिँदा खोलाहरुमा

माछा मार्ने हजार होलान्

नौका लिएर हिँड्ने माझीहरुलाई चिन साथी।

विश्व परीक्षा प्रणालीमा तिमीजस्ता गणेशपन्थीहरुको हुल छ

प्रमिथसको अग्निज्वालामा

फिरौती असुलेर महामहिम् कुमारहरु नबन साथी

किनकि

अस्ताउँदो सूर्यमा बिहान देखेको छु मैले।

छोटो बाटो छिटो हुन्छ

चाटे चास्नी मिठो हुन्छ

त्यसैले

सिसिफसहरुको जाइफलमा सनासो लगाएर

सँसार बदल्न नहिँड साथी

किनकि

छालहरुको छिटाछिटामा मेरै शिरान देखेको छु।

अबदेखि

तिम्रा हैसियतका पञ्जीकृत लालपूर्जाहरु

लालसागरतिरै लिएर जानू

नानाभाँतिका हुलियामा बजार नभाँडनू

माहुरीका घारमा झिँगा विम्व नपाल्नू

मुख भएर पनि बोल्न नसक्ने

मुहार भएर पनि नचिनिने

शब्द सोच्ने

निःशब्द सँवाद गर्ने

धुलौटा जीवनका सहयात्रीमाझ मेरो बास छ साथी

हो, साथी

त्यही भएर

अस्ताचलको सूर्यमा भुक्भुके बिहान देखेँ

छालका लहरहरुमा मेरै विम्वित प्रतिविम्व लेखेँ

आँखाभरि समुद्र पटाएर स्मृतिवाटिका भरिभरि

आशा र भरोसाका सौम्य विम्वहरु देखेँ।

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।