19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नूतनोत्सव

कविता नवीन मनोहर September 15, 2016, 5:27 pm

नदीझैँ लामो जीवनमा

बग्दाबग्दै एकाकार भएर

लक्ष्य चुम्ने उद्देश्यले हिँडेको

यात्री अनवरत यात्रारत छ,

असमेल सामग्रीहरु छन् उसँग

अनगिन्ती इच्छाहरु पनि छन् ऊसँग

ऊ कर्तव्यको गाण्डिवधारी अर्जुन हो

ऊ लक्ष्यको पथअनुरागी एकलव्य पनि हो

निरन्तरनिरन्तर अगाडि बढ्नु

उसको लक्ष्य हो

महान् लक्ष्य,

जीवनमा उसले हरेश खान जानेको छैन

जीवनमा उसले समस्याहरुसँग डराउन जानेको छैन

आँधीहुरी आए ऊ पहाड बनी छेकीदिन्छ

सुनामी बौलाए छाती दह्रो पार्छ

अनन्य मित्रहरुसँग ऊ रुवाझैँ कमलो व्यवहार गर्छ

निष्कलङ्क फूलहरुझैँ हाँसी दिन्छ

विना स्वार्थका व्यवहारहरुमाझ

उसले फूलहरुको कालीन र

सङ्घर्षहरुको कहिरन भलिभाँती पढेको छ

र पढेको छ विविध मानवहरुको

बौद्धिक पाइन

उसले गरिब, असक्षम र निरिहलाई प्रेम गरेको छ

ऊ नदी, सूर्य, रूख, पवन र पसिनाबाट पनि सन्देश लिएको छ

सबैभन्दा बढी उसले मौनतालाई साथ दिएको छ

अविराम गतिमा

आबाद्ध प्रगतिमा

उसले जीवनलाई बुझ्न

हरेक मानिसलाई पुस्तक बनाएर पढेको छ

अनि ऊ जीवनमा अघि बढेको छ

भन्नेहरुले जे पनि भन्न सक्छन्

ऊ स्वार्थी हो, ऊ घमण्डी हो

निनानसेकमा उसलाई आफूजस्तै अरु देख्न मन पर्छ

त्यसैले ऊ नूतनोत्सव पर्व मनाउँछ

जीवनमा सँधैसँधै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।