मनको ढोका के अलिकति खोलिदिए
नितान्त ब्यक्तिगत क्षेत्रमा प्रवेश गर्यो उसले
सबै साँध सीमा भत्काउँदै
मेरो सार्वभौम क्षेत्रमा अतिक्रमण गर्न थाल्यो
कुनै विस्तारवादी शासकले झैं ।
एक्कासी घात गरेर प्रहार गर्यो
मेरो सोच्ने मस्तिष्क
र संवेदना पाल्ने मुटुमा
त्यसपछि
फलाम पिट्ने घनले झै पिट्यो मलाई
सार्वजानिक स्थलमा
र समाचार बनाएर फोहर पार्यो
अखवारका पानाहरु ।
केस्रा केस्रा पारेर हेर्यो
मेरो मस्तिष्कलाई
जान्न चाह्यो के सोच्छ यसले भनेर ?
चिराचिरा पारेर खोतल्यो मुटु
थाहा पाउन चाह्यो
कसलाई माया गर्छु भनेर ?
टुक्रा टुक्रा पार्यो उसले मलाई
कुनै कसाहीले झैं ।
र थाहा पाउन चाह्यो उसले
यो शरिर कसका लागि बनेका हो ?
यी हातका कसका लागि काम गर्छन् ?
यी पैतला कसका लागि टेकिन्छन् ?
यी आँखा कसका लागि हेरिन्छन् ?
यी कानले कसका आवाज सुन्छन् ?
यो मुख कसका लागि बोलिन्छ ?
अनि हरेक टुक्रामा खानतलासी गर्यो
म कुन पार्टीको मान्छे हुँ भनेर ।
मेरो टुक्रिएको शरिर
छियाँछिया पारिएको मस्तिष्क र मुटु
एकाएक पुनः संगठित हुन्छन्
म जुरुक्क उठेर दुरुस्त हुन्छु
कुनै परिकथाको नायक झैं ।
ऊ हरेक पटक मलाई मारेको भ्रम पालेर बाँच्छ
म फेरि ब्यूँतिएको विश्वास गर्न नसकेर ऊ मर्छ
वर्षौदेखि हरेक दिनको संकट र षड्यन्त्र चिर्दै
ठिंग उभिएको सत्तिसालको रुख झैँ
बाँचिरहेको वर्तमान समयको म मान्छे ।
ब्रसेल्स, बेल्जियम