नेपाली डायोस्पोराहरुमा भाषा साहित्यको माध्यमले सेवा गरिरहेको एक मात्र संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हो । यस्तो महत्वपूर्ण जिम्मेवारी लिएर स्वस्फूर्त रुपमा आफ्ना कार्यक्रमहरु गर्न सफल संस्थाको कार्यका लागि अझ धेरै चुनौतिहरु छन् । यसले सम्पन्न गर्नु पर्ने थुप्रै कामहरु छन् ।
वर्तमान समय -परिस्थिति अनुरुप यसका कार्य क्षेत्र विस्तार गर्दै यसलाई फराकिलो बनाउँदै लैजानु पर्ने देखिएको छ । यस संस्था संचालनको परम्परागत ढर्राबाट मुक्त गरि आगामी दिनका लागि थुप्रै नयाँ योजनाहरु बनाउनु पर्दछ । ति योजनाहरु अल्पकालीन तथा दिर्घकालीन रुपमा बनाई लागू गर्न प्रयत्न गर्नुपर्दछ । यसका लागि संस्थाका सम्पूर्ण साधारण तथा आजिवन सदस्य, सल्लाहाकार, बोर्ड अफ ट्रष्टि लगायत साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरुले घच्घच्याउनु पर्दछ । यो सानो लेखमा अनेसासले आगामी दिनमा गर्नु पर्ने कार्यहरु संक्षिप्तरुपमा राख्न चाहान्छु ।
समाजको वेवसाईट दूरुस्त तथा समयानुकुल आवश्यक सुधार गर्ने ।
अनेसासबाट प्रकाशित पुस्तकहरुको सूचि वेवसाईटमा राख्नु पर्दछ । अहिलेसम्म कतिवटा पुस्तक प्रकाशीत भए भन्ने कुरा कसैले भन्न सक्दैन । कम्तिमा पनि प्रकाशित पुस्तकको कभरपेज सम्म वेवसाईट उपलब्ध गराउनु पर्दछ । प्रकाशित पुस्तकहरु बिभिन्न शाखाहरु मार्फत बिक्री-बितरणको व्यवस्था गर्नु पर्दछ । बिक्रीबापतको केही रकम शाखालाई दिन सकिन्छ । यसो गर्दा शाखा आत्मनिर्भर पनि हुन्छ ।
नेपाली साहित्यका उत्कृष्ट पुस्तकहरु अंग्रेजीमा अनुवाद गरि विश्व साहित्यको समकक्षमा पुर्याउन संस्थाले पहल गर्न सक्नुपर्दछ । यसो गर्दा हाम्रो नेपाली साहित्यको पनि अन्तर्राष्ट्रिय पहुँच हुनजान्छ ।
समाजको प्रकाशन अन्तर्दृष्टि सबै शाखाहरुमा उपलब्ध गराएर बिक्री बितरणको ब्यवस्था मिलाउनु पर्दछ । नेपाली साहित्यको भण्डारमा देशका अन्य भाषाका साहित्यलाई पनि समावेश गर्न सक्नुपर्दछ । बदिलंदो परिस्थिति अनुरुप अन्तर्दष्टिमा बर्षमा एकपटक देशका अन्य भाषाका साहित्य पनि उपलब्ध गराएर बिशेषांकको रुपमा यसलाई प्रकाशित गरेर समावेशी पत्रिका बनाउन सक्नुपर्दछ । पिछडिएका भाषा साहित्यको उत्थानका लागि अब अनेसासले ठूलो भूमिका खेल्नु पर्दछ ।
केन्द्रले अब हरेक वर्ष बहुभाषिक कवि गोष्ठी गर्नुपर्दछ । हाम्रै देशका अन्य भाषिकाका सुन्दर अभिब्यक्ति अन्य भाषीले पनि सुन्न पाउने व्यवस्था मिलाउनु पर्दछ ।
अनेसासले स्वयं आफैले र प्रायोजकले गरि विभिन्न विधामा पुरस्कारको व्यवस्था गरेको छ । आफ्नो मातृ भाषामा लेख्ने लेखकलाई प्रोत्साहन गर्न र ती भाषामा लेखिको कृतिलाई पनि पुरस्कृत गर्न बेग्लै पुरस्कारको स्थापना गर्नुपर्दछ ।
हालसम्म प्रकाशित पुस्तककलाई मात्रै पुरस्कृत गर्दै आएकोमा पाण्डुलिपिलाई पनि पुरस्कृत गर्न पाण्डुलिपि पुरस्कारको स्थापना गरेर पुस्तक प्रकाशित गर्न नसक्ने लेखकलाई प्रोत्साहित गर्न सक्नुपर्दछ ।
स्वदेश तथा विदेशमा भाषा साहित्यमा समर्पित लेखक साहित्यकाहरु असक्त बिरामी हुँदा कतिले राम्रो औषधी उपचार नपाएर मृत्युको मुखमा पुगेको पढ्दा तथा सुन्दा सबै साहित्यप्रेमीहरु दुखी हुन्छन् । यस्तो अवस्था नआवोस् र अलिकति मात्रै भए पनि उनीहरुलाई राहात होस् भन्नका लागि साहित्यकार उपचार कोषको स्थापना गर्नुपर्दछ ।
विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुको पूर्ण विवरणको संग्रह गर्नुपर्दछ । संग्रहको लागि साहित्यकार कोशको प्रकाशन गरिहाल्नु पर्ने भएकोछ । सुरुवातका लागि सबै भन्दा पहिले संस्थाको वेवसाईटमा र पछि पुस्तकको रुपमा प्रकाशित गर्नुपर्दछ ।
अनेसासको विभिन्न क्षेत्र तथा देशमा स्थापित च्याप्टरका पदाधिकारीहरुको नामावली संस्थाको वेवसाईटमा उपलब्ध गराउनु पर्दछ ।
अनेसासको शाखा खुल्न नसकेका देशहरुमा नेपाली दुतावास तथा एनआरएनको सहयोगमा शाखाहरु खोल्न पहल गर्नुपर्दछ । संगठन बिस्तार गर्न तथा प्रकाशित पुस्तकहरुको बिक्री बितरण गर्न एक नेटवर्क म्यानेजरको ब्यवस्था गर्नुपर्दछ । यसमा बिधानले बाधा पुर्याए कार्यसमिति भित्रकै कुनै पदाधिकारीलाई जिम्मेवारी दिएर कार्यको थालनी गर्नुपर्दछ ।
यी माथिका केही कुरा मात्रै नयाँ कार्यसमितिले लागू गर्न सके नेपाली साहित्यको विकाशमा डायोस्पोराहरुको प्रयास कोशे ढुंगा सावित हुनसक्छ ।
(लेखक अनेसास केन्द्रीय समितिको नवनिर्वाचित महासचिव तथा बेल्जियम च्याप्टरका अध्यक्ष हुन् । यी लेखकका नीजि धारणामात्र हुन् । )