19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ब्वाँसाहरु

कविता सञ्जु बजगाईं September 30, 2016, 6:53 am
सञ्जु बजगाईं
सञ्जु बजगाईं

बम बिस्फोटको बहादुरी

कसले पढायो ब्वाँसाहरुलाई ?

उद्यत छन् आफ्नै घरभित्रका

सन्ततीहरुको रगत पिउँनलाई ।

बुद्धको देशमा

नरभक्षी ब्वाँसाहरु कुनबाटो भित्रिए ?

दिनदहाडै भित्रिए कि ?

कालो रातमा भित्रिए ?

पहरा दिन बसेकाहरु

काखी कन्याउनमा ब्यस्त भएपछि

हो, यस्तै हुने निश्चित रहेछ ।

आलो रगत पिउँन निस्किएका ब्वाँसाहरु

कलिला मुटु कलेजा गिजोल्न निस्किएका ब्वाँसाहरु ।

कयौ कष्ट खेपेर आमाले,

जन्माएका कलिला अनुहारहरुले

ब्युँझनसम्म नपाउँने भए एउटा शान्त बिहानी

रातभर ब्वाँसाहरुले थाप्ने पासोमा

कलिला टाउकाहरु पर्नेछन् कुनै पनि बेला

परायाका भाकल पुरा गर्ने बलिका बोकाझैं भएर,

अनि उछिट्टिनेछन् तिनका निर्दोश शरीरहरु

हावामा यत्रतत्र सबत्र भएर

बाँकी रहनेछन् केवल आमाका मुटुमा खोपिएका दागहरु ।

कठै! ज्ञान बटुल्न निस्किएका कलिला अनुहारहरु

सभ्यता र मानवता सिक्न निस्किएका अनुहारहरु ।

साँझ आमाहरुले सुनाउँने दन्तेकथाका ब्वाँसाहरु,

दिनदहाडै बम बोकेर निस्किएका क्रुर ब्वाँसाहरु

फरक छैन रत्तिभर

बरु समानता उस्तै छ भय र त्रासको

मान्छेहरुको बस्तीमा ब्वाँसाहरु भित्रिएपछि

मानवता धमिलिदो रहेछ

सभ्यता मेटिदो रहेछ

शान्ति खोसिदो रहेछ

र,

मिल्दो रहेछ सिङ्गो आतंक ।

नरम भुत्ले छाला ओढेका क्रुर काला ब्वाँसाहरु

निर्दयी, निर्भय र नरभक्षी जंगली ब्वाँसाहरु ।

आजैबाट, आमाहरुले

बिर्सनु पर्ने छ ब्वाँसाहरुका दन्तेकथा

अहिल्यैबाट, ब्वाँसोसँगको युद्ध

लड्नु पर्ने छ सन्ततीहरुले

हतियारले भगाउन नसकिने ब्वाँसाहरु

केवल आगो देखेर भाग्नेछन्

तसर्थ,बाबुहरु शुरु गर पुल्ठाहरु जलाउन

थमाईदेउ आगोका लप्का ओकल्ने पुल्ठाहरु

ति निर्दोश कलिला हातहरुमा

जल्नदेउ बरु सन्ततीका केही आंैलाहरु ।

ज्ञानका बाटोमा बम राखेर भागेका कायर ब्वाँसाहरु

आगोको लप्काले निल्न बाँकी रहेका दुष्ट ब्वाँसाहरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।