19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पहिलो किस्ता

हास्यव्यङ्ग्य टेकब कोइराला October 6, 2016, 9:39 pm

(हास्यब्यंग्य कविता)

हाम्रा गाउँका कुइँकेल काका,

जिन्दगीभर, न मीठो खाए, न राम्रो लाए

न कहिल्यै तलव खाए, न चुनदाम भत्ता पाए

न कसैसंग घुस खाए, न केही सामानमा फाइदा उठाए ।

न कुनै नेताको गाना गाए, न कुनै बेइमानसंग मित लाए

यो धर्तीमा सिम्पल किसिमको खाल जमाए

त्यसैमा कुइँकेल काका काइदासंग रमाए ।

तर....... एकदिन अचानक,

जव हजार हजारको एक मुट्ठा पहिलो किस्ता पाए

कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।

पहिलाप्रथम टाउको धुन पनि सिलिक स्याम्पू लगाए

लकस साबुनले नुहाएर होला, पर-परसम्म मगमगाए

दोश्राप्रथम सिमेभुमे देउदेउतालाई धुपदीप नैवेद चढाए

मुख मिठ्याउनुस् हजुर ! भन्दै तीन किलो त लड्डु लडाए

जव हजार हजारको एक मुट्ठा पहिलो किस्ता पाए

कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।

पहिलो किस्ताबाटै नाडीमा एउटा झिल्के घडि लाए,

सेल्फी खिच्न मिल्ने एउटा मोबाइल बट्टा पनि समाए ।

सक्कली जस्तै देख्खिने गरगहनाले कुइँकेल्नी काकीलाई सजाए

एक-एक जोर खासाको कपडा र जुत्ता-मोजा भुराहरुले नि पाए।

पहिलो किस्ताबाटै बच्चाको इस्कुलको फिस बुझाउन पठाए

बल्ल इस्कूलले पनि कुइँकेलको नाम कालो सूचीबाट हटाए ।

केही दिनसम्म त बच्चालाई टिफिनखर्च नगदै दिइपठाए,

उता चनाचटपटे र पानीपुरीवाला पनि खुशीले तिघ्रा ठटाए ।

मालपोतमा तेह्र वर्षदेखि तिर्न बाँकी तिरो, तत्कालै तिर्न अह्राए

कार्की बुढासंग लिएको ऋण साँवाब्याजै चुक्ता गराए ।

भुँइकम्पे टहरो बनाउँदा ल्याएको कर्कटपाताको बील भराए ।

मैले तिर्न पर्ने अव कसैको बाँकी छ, छ, छ ? भनेर तीन पल्ट कराए

कसैले हात नउठाएपछि आफूलाई ‘ऋणमुक्त कुइँकेल’ घोषित गराए ।

पहिलो किस्ताबाटै दशैंका लागि चामल-च्यूरा कुटाए

नौ धार्नीको खसी र त्यसमा मिसाउने मिटमसला जुटाए

प्योर घरपाला कोदाको जुस, बिसमाने जर्किनै उठाए

टिकाको दिनमा दक्षिना दिन, कटकटी नोटको बण्डलै फुटाए ।

पचासवटा हात्तीको बिटो पाँचै दिनमा खल्तीखलास बनाए ।

सरकारले दिएको पहिलो किस्ताको अनुदान, दान जस्तै बनाए।

कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।

घरको जग उठाउनुपर्ने पहिलो किस्ताले

धुमधामसित दशैं पो मनाए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।