14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चुँदीरम्घा

कविता प्रा.डा. शर्वराज आचार्य October 6, 2016, 4:47 pm

खुले पैले मेरा नयन युग फक्रेर सहसा

खुसी भै रोएथेँ धरतिकन लागी अति सफा

म मुस्काएँ मीठो कलरव सुनी विस्मित बनेँ

चुँदीरम्घा ऐले भन न कसरी दूर म भएँ ?

बसेँथेँ सन्सानो मलमय गुफामा तममय

जता हे¥यो लाग्थ्यो अति सकसमा बेहद भय

गुफादेखिन् निस्की प्रतिदिन उज्यालोसित रमेँ

चुँदीरम्घा ऐले भन न कसरी दूर म भएँ

म खित्कामा खेल्थेँ कर पयर फालेर चपल

चरा चर्थे मेरा वरिपरि नियालेर सकल

सुनी भाषा गर्थेँ अनुकरण अव्यक्त लबज

म खेल्थेँ झन् फाली कर पयर सानन्द सबल

मलाई यो पैलो विहगहरुको स्वागत थियो

अहिंसाको शिक्षा पनि मनुजमा सूचक थियो

म ता शिक्षादेखिन् परपर हुँदै दानव बनेँ

चुँदीरम्घा ऐले भन न कसरी दूर म भएँ

प्रतिज्ञा बिर्सेको कथनसँग संसार पढियो

चरा झैँ चारामा जग जग उडी देश घुमियो

सधैँ आमा भन्थ्यो मन तर हराएँ पर पुगेँ

चुँदीरम्घा ऐले भन त कसरी दूर म भएँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।