उज्यालोको संकेत कुखुराले होइन
एन्ड्रोइडले दिन थालेको छ
बिस्तारै बुढ़ा-बुढीको आँखा खोलिन्छ
त्यसपछि हुन्छ योगाभ्यास
बुढ़ी औंलाको।
पण्डित बाजेले शङ्ख फुकेपछि
गाउँको अर्को पाटो बिउँझिन्छ
बा-ले वाट्सएपमै
गुडमर्निङ भन्छन् साथीहरूलाई
अनि हाल्छन् फेसबुकमा स्टाटस्
‘हर हर महादेव सबैलाई नमस्कार’
एन्ड्रोइड फोन बोक्न थालेपछि
आमा गुडमर्निङ भन्छिन्
बा-लाई ब्रेकफास्ट दिन्छिन्
घरमा लञ्च हुन्छ
अनि डिनर।
बिजुली गयो भने
आमा बिसञ्चो हुन्छिन्
धारावाहिक मन पोल्न थाल्छ
खेलीरहन्छ आमाको मन
आँखा घड़ीमा, घड़ी घुमिरहन्छ
मन पोलिरहन्छ
यत्तिकै धारावाहिक निन्द्रा लाग्छ।
गफ गरिरहन्थे
गाउँघर घुमी-घुमी
बा- अहिले पनि गफ्फिरहन्छन्
मेसेन्जरमा,
आँखा देख्दिन भनेर
चस्माको पावर थपे भर्खरै
अडियो नेपाली कथा
सुनाएको थिए पल्किएछन्।
मुगलान, सेतो धरती, आधाबाटो
सकस, सुम्निमा, धेरै धेरै धेरै
अच्युत घिमिरेको आवाज सुनेपछि
कविता पनि हालिदिए
फोन सिनारीमा राखेर
घण्टौंभर सुन्छन्
धरावासीको झोला चलचित्र हेरेर
बुड़ा नरोएका चाहिँ होइन्
एन्ड्रोइड फोनले
बा-लाई रूवायो
हाँसायो
एकान्तमा
अङ्गाल्यो पनि।
भाउजुले सब्जीको भाउ
फोनबाटै पत्तो लाउँछिन्
अनि घुमछिन् दोकानहरू
दाजुलाई सिरियलकै टाइपको
साड़ी डिमाण्ड गर्छिन्
यप्-मीले गाउँमा सेवा शुरू गरेको छ
सेण्डल अनलाइन मगाइन्
साइज नमिलेर दोब्बर दाममा बोचिन्
भाउजुले, कपालको डिजाइन
नेटमा हेरेर बानउँछिन्
मेहन्दी लाउन यूट्यूबले सिकायो
हिजो आज भाउजु
सिरियल पनि अनलाइन हेर्नु भन्छिन्
डिजिटल भइसकेकिछन्
गाउँकी मेरी भाउजु।
छोरीले होमवर्क
गुगलबाटै गर्छे
अचेल धेरै पढ्छे
घण्टौंभर फोनमा
अनि भन्छे मम्मी ई-बुक
साईला दाईले
एकहल गोरू फेसबुकमा हाले
अनि लेखे स्टाटस्
बिक्रीमा छ चाँड़ो गर्नोस्।
बीसवटा लाइक नभइ बिक्री भयो
घिउवालाले दोकान खोल्यो
फेसबुकमै भयो हल्ला
अलैंची रोप्दै गरेको फोटो
तक्सले सरकारलाई ट्याग गऱ्यो
पार्टीको झण्डा फेरेको फोटो
पञ्चायत अध्यक्षले प्रोफाइ बनायो
नरेगाको पैसा बाँढ्दा
फुच्चेले भिडियो गऱ्यो
अर्कै भएको छ मेरो गाउँ
साँच्चै डिजिटल भएको छ
मेरो गाउँ मेरो ठाउँ।