19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुबायलगीता

हास्यव्यङ्ग्य कोमलप्रसाद पोखरेल November 10, 2016, 6:04 pm

(हास्यव्यङ्ग्य कविता)

हिंडी हिंडी बजाउँछन् मसक्क मस्किँदै कुनै

रमेर नित्य यादमा मधूप बन्दछन् कुनै,

लगेर सेट कानमा हलाे त नार्दछन् कुनै,

हवस् हजूर भन्दछन् यता त्यता घुमी कुनै ।

जता गयो मुबायलै त्यतै छ मान एसकाे,

गरीब होस् तथा धनी यही छ शान देशकाे ।

छ कक्षमा मुबायलै छ जाँचमा मुबायल,

कहीँ त चीट नै बनी सिकाउने मुबायल ।

छ सेट हातमा भने गराउँछ स्वयंवर,

विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल ।

न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने,

असीम बन्छ इज्जतै भिर्यो मुबायलै भने

स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल,

मिलिक्क देश नै धनी बनाउने मुबायल ।

गरीब खानले मरे त अन्न हो मुबायल,

असक्त रोगले मरे छ ओखती मुबायल ।

छ घूस ख्वाउनै भने गरेर हेर डायल,

छ देश मास्नुनै भने त अस्त्र हो मुबायल ।

अतीव जेष्ठ हाेस् बरू, छ साथमा मुबायल-

भने छछं गरी परी नचाउने मुबायल ।

विवाहिता सती त्यसै हटाउने मुबायल,

पराय कामिनी स्वयं फकाउने मुबायल ।

विभागमा पुग्यो भने रुँगाउने मुबायल,

दिएन दच्छिना भने रुवाउने मुबायल ।

कुनै कुनै असुन्दरी र जेष्ठ नै भए पनि,

छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी ।

ठिटाहरू पिछा गरी घुटुक्क गर्दछन् जब,

यही नयाँ विकास हो भनी बुझे भयो अब ।

कहीँ त शोडषीहरू हँसाउने मुबायल,

कहीँ त एसमेसले फसाउने मुबायल ।

कि यौवना घरै भरी सजाउने मुबायल,

कि ता विदेशमा लगी भँजाउने मुबायल ।

छ भात थालमा भने त दाल हो मुबायल,

उता छ बास्मती भुजा यता ढिंडाे मुबायल ।

निदाउँदैन रातमा छ हातमा मुबायल,

उठेर भन्छ भाेकले मरें प्रिंये ! मुबायल !

यदाकदा घटी बढी भएछ भागमा भने

दलीय भावना स्वयं फुटाउने मुबायल ।

फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब,

हुटेलमा पसेभने जुटाउने मुबायल ।

यता उता जताततै घनक्क घन्कने यही,

अनेक टोनमा बजी रनक्क रन्कने यही ।

कथा, पुराण आदिमा गई पसे भने जब,

टिटीँ टुटूँ गर्यो कि ता जुरुक्क उठ्दछन् तब ।

हदृश्य ठाउँमा लगी करोड, अर्ब माग्छ याे,

मिलेन दाम मागकाे भने लिंदैछ ज्यान याे ।

तथापि मानिसै न हो हुदैन कत्ति कायल,

रहेछ जादुको छडी समान यो मुबायल ।

धनी छ देश भेषमा ऋण प्रशस्त केशमा,

न खान लेश साथमा तथापि सेट हातमा ।

युवा पति प्रदेशमा विवाहिता विदेशमा

लगी स्वतन्त्रले चराउँदैछ यो मुबायल ।

कलेज जान्छ ठाँटमा लिएर सेट हातमा

तथापि ऊ गरीबझैँ कुरा कथुर्छ बातमा

यदाकदा त झुन्ड नै लिएर हिंड्छ साथमा,

पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।

चिठी बरा कता गइन् यहाँ त सौतिनी पसी

रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी

चिठी र प्रेमपत्रका सबै अमूल्य फायल

त्यसै सखाप गर्दिने रहेछ याे मुबायल ।

सुरुङ्गा, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।