19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पोखरा

कविता डिल्लीराज नेपाल December 16, 2016, 8:38 am

देखेँ सुन्दर यौवना रुपवती यी पोखराकी परी

ए! फेवा भन चोर्दछ्यौ दिल छिटै लट्याउँछ्यौ के गरी

त्यो लावण्य सुहाउँदो प्रकृतिमा धौलागिरि हाँस्तथ्यो

छायाँमा हरियो पहाड उभिई आनन्दले नाच्तथ्यो ।

पानीमा लहराउँथ्यो लहर झन् नौका चलेका पख

ढुङ्गा गैर हुँदा मनोहर थियो दृष्यावली व्यापक

सन्ध्याका पखमा सिदूर छरिया सौन्दर्य खुल्थ्यो अझ

टल्कन्थ्यो र विहान घाम कलिलो छर्दै मिठो सौरभ ।

पाताले छहरा गुफा र गहिरो सेती सुतेको छटा

हेर्दा लाग्छ रहस्यले भरित यो साँच्चै तिलस्मी कथा

यो स्वर्गाश्रमको अपूर्व उपमा हो पोखराली धरा

कस्ले श्रृष्टि गरी चिनो किन दियो यी स्वर्गकी अप्सरा ।

यो पाएर नसक्नु दुर्लभ चिनो सौगात नेपालको

योआकर्षण केन्द्र हो डलरको भण्डार नेपालको

हाँस्छ्यौ साँझ विहान स्वर्ण रङले ढाकेर स्यूँधो सधैँ

छर्दै शान्ति रमाउँछ््यौ जलपरी यो पोखरा काखमै

होला मण्डल सौम्य शान्त नगरी मुक्तवलीले भरी

गलान् मर्दन मान दुष्ट जनले ठानेर निर्धी चरी

बुझ्नेलाई महत्व ब्यापक भयो पियूया पञ्चामृत

पाखण्डी जनलाई मूल्य यसको बन्ला कि कालो विष

हाँसोमा र स्वभावमा सरलता शालीनताकी धनी

मान्छेको मन तान्न खप्पिस भई लायौ मिठो मोहनी

तिम्रा काख हराउँदा कवि बने कोही बने गायक

कोही जीवन वा जगत् बुझीदिने कोही महानायक ।

तिम्रो कोमलता पिएर तपसी धौलागिरी पग्लिए

तिम्रै शालिनता सिकी निलगिरी झन् ओजले अग्लिए

जो जो मुर्छित भै लडे जमिनमा माफी मिली वौरिए

दर्शन् खातिर विन्ध्यवासिी सवै यो तालमा पौरिए ।

गर्छन् स्वागत ताल शैर जव भो नाचेर माछाहरु

दिन्छन् दृष्टि अपार बुद्ध कसरी फैलाई आखाहरु

डुङ्गामाथि सवार भै भ्रमणमा डो¥याउँछौ पोखरा

तिम्रो वर्च विकासमा अघि बढून् यी हात वा पाखुरा ।

तिम्रो वर्णन पूर्ण हुन्न कहिल्यै दृष्टान्त लाखौँ दिँदा

थाक्नेछन् कवि वा बृतान्त कहने यो दृष्य पर्गेलिदा

यो सौन्दर्य अपार मादक बली लाए छ रे मोहनी

खुल्ला आगन वाट आगत गरुन् भै दृष्यको दोहनी ।

सेतीको छ वगाई शान्त गतिमा पुन्नाग वा नाग झैँ

गैडाको थुतुनो समान गतिला थुम्की उठे खाग झैँ

पाताले छहरो कराउँछ उता झन् घाइते बाघ झैँ

फाटेको छ चिरा परेर धरती भो चन्द्रको दाग झैँ ।

धर्ती भित्र छिरिन्छ ती सुरुङ झैँ आश्चार्यका खाडल

हेर्नालायकको महेन्द्र छ गुफा पाताल छिर्ने पथ

पातालेश्वर देवछन् जमिनका भित्री गुफा मुन्तिर

जाआँै दर्शन गर्न धाम धरती हो पोखरा मन्दिर ।

छर्दा नित्य सुगन्ध भो पवनले भुल्दछ

पर्दा वादलको हटेर जनको आमा अझै खुल्दछ

ब्रम्हानन्द मिलेर बन्दक सुखी जो पोखरा डुल्दछ

पीडा दुख्ख तथा तनाव मनका ती वेदना भूल्दछ ।

भन्थे प्राकृत प्रेम साधक सवै यो जादुको स्वर्ग रे

यस्तो दिव्य छ पोखरा नगरको गर्दैन को गर्व रे

यो मुस्कान मिले पछाडि तपसी सम्मोहमा फस्छ रे

भै जालान्धर डाह गर्छ सतीको मुर्छा परी मर्छ रे ।

भर्दै सुन्दरता अनेकन छटा याही झिकाइन्छ रे

लाली स्वर्णिम सूर्यका किरणले आइ लगाइन्छ रे

त्यो धौलागिरीको थपेर टक झन् कान्ती जगाइन्छ रे

सन्ध्या कालिन रश्मि वाट यिनको स्यूँदो सजाइन्छ रे ।

कन्यादान दिने शुभो लगनमा पाणी समाइन्छ रे

सन्यासी शिव दक्षको छल गरी देवी भगाइन्छ रे

प्रेमीका अवरोध बन्धन सवै पाखा लगाइन्छ रे

क्वैलीवाट सदैव नै प्रणयको गाना सुनाइन्छ रे ।

पाखाका हरिया पहाड वनले वाटो सजाइन्छ रे

फेवावाट तमाम यात्रु गणमा माया बसाइन्छ रे

संसारी सुखको अपार ढुकुटी याही अटाइन्छ रे

शान्ति, मुक्ति र सिर्जना सकलको वस्ती बसाइन्छ रे

आँखा माथि छ मोहनी किनभने मुस्कानमा मोहनी

ती आकर्षक दन्तका लहरमा झन् ओठमा मोहनी

गर्दा चुम्बन वायुले अधरमा वा धापमा मोहनी

कस्तो स्पर्श छ रोमहर्ष सुखको त्यो रापमा मोहनी ।

भै पूर्णाङ्ग प्रफुल्ल चौसठकला सर्वाङ्गमा मोहनी

त्यो आतिथ्य सधैँ खुला हृदयको त्यो त्यागमा मोहनी

बोलीमा व्यवहारमा रसिकता यो सभ्यताको धनी

गर्दै स्वागत पोखरा नगरले लायो दिगो मोहनी ।

आयौ बस्न सुटुक्क यो दिल विशे ए पोखराकी परी

मेरो त्यो मन भित्रको मणि लग्यौ थाहै नपाई हरी

यो ता सास्वत सत्य नै हुनगयो आफैँ हराए पछि

कस्तो चल्छ भूकम्प भित्र मनमा यी मुस्कुराए पछि ।

योगी वा तपसी यसै प्रणयमा चुर्लुम्म डुब्छन् अरे

यो आस्वादनवाट ती ऋषिमुनि संसार भुल्छन् अरे

यस्तै रैछ अजेय सौम्य नगरी हो स्वर्गकी सुन्दरी

ब्रम्हानन्द पिलाउने प्रियतमा हो अप्सरा वा परी

मै नाथे पनि जित्न इन्द्रिय कुनै पारङ्गती छैन रे

यस्तो सुन्दर मोहको रस पिई कैल्यै अघाइन्छ रे

मान्छे हो र सदैव शान्ति सुखको सौन्दर्य प्रेमी भयो

तेसैले यस सुन्दरी परी सँगै यो दिव्य नाता रह्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।