19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वधूखाना

कविता त्रिभुवन चन्द्र वाग्ले January 12, 2017, 5:01 pm

चराहरू उज्यालो भएको

उद्घोष गर्छन् र गीत गाउँछन्

घोडाहरू टक्टक्टक्टक् टाप कुद्छन् र

गतिशील साहित्य लेखन निर्दिष्ट गर्छन्

खै मान्छेले उज्यालोको गीत गाएको

खै मान्छेले गतिशीलको ‘बिट’ पाएको

भ्रममा वाँच्नु मानिस हुनुको प्रमाणपत्र,

उसले क्रान्तिको मिर्मिरे ल्यायो रे

उसले प्रगतिको ‘वाद’ ल्यायो रे

तर, खै मानिसले उदय र अस्त गर्न सकेको ?

चिकित्सा विज्ञानको प्रयोगशालामा

‘बतासे’ सन्तानको जन्मदिन

खै कहिले मनाउनु

न बोक्नु न जन्माउनु

शहरको १५ असार जस्तो !

तिम्रा आङमा सृष्टिको अलिकति ‘हिलो’ लाग्यो र ?

न तिमी बियाड, न ऊ बाउसे !

कहिले भयो रोपाइँ कुन्नी ?

के मुठी लिनु, के न्वागी खानु

शहरको भूमिपति जस्तो

न उसले रोप्न पायो

ब्रोइलर पोथी जस्ती

न तिमीले कोरल्न पायौ,

खै कसरी मनाउनु ‘बतासे’का जन्मदिन

न रोप्नु न कोरल्नु !!

हरेक रात नियोजन गरेर सृष्टि

बिहान,

वेद घोक, बाइबल पढ वा कुरान

चराले गाइँदैमा शान्ति गाइन्छ र ?

मान्छेले घोक्दैमा क्रान्ति पाइन्छ र ?

खै तिम्रा चरमोत्कर्ष भर्सेज सन्तानहरू

जसले जन्म र मरणको सत्य व्यहोर्न पाएनन्

क्या अर्धसत्य छन् तिम्रा रातहरू

जहाँ नजन्मदै मासिन्छन् मान्छेहरू

सिद्धिन्छन् सृष्टिहरू

न तिमीले अधिकार मान्यौ र जन्मायौ

न उसले धर्म धान्यो र जन्मायो

क्या अर्धसत्य छन् तिम्रा वासनाहरू

न अधिकार न धर्म

न दान न पुण्य

जो खच्चड हिन्हिनाउँदा

सर्मले भुतुक्क झुक्छन्

उसले आफूलाई न बाबु बनायो, न आमा

न दान न प्राप्ति

खरिद गरिएको वधुशालामा

सन्तानका ग्राफ कहाँ केरिनु

म्याच फिक्सिङ गरेर

विजयको मेडल कहाँ झुण्ड्याउनु !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।