यौटा भयानक युद्धपछि तिमी जन्मियौ
तिम्री आमाको प्रसव-चित्कारको अन्तिम पंक्ति
तिम्रो अन्तिम भोजन थियो- यस पृथ्वीको ।
जब तिमी आयौ यहाँ...
अब तिमिसित छैन त्यो
छैन धरती
छैन देश
छैन घर
छैन त्यो- गर्भको स्वतन्त्रता ।
तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरीछेउ
युएनओको आलो छाप लागेको छ
जसको वरिपरि-
भोका कमिला र हरिया झिँगा घुमिरहेका छन् ।
भोकले-
जब तिमी रोयौ पहिलोपल्ट
तिम्री आमाले पिलाइन् आफ्नो सपना
तिमी लामबद्ध भयौ संघर्षमा ।
छोरी !
जब तिमी टुकुटुकु हिँड्न थाल्नेछ्यौ- यो बाटोमा
पुतली, फूल, पानी र धुलोसित खेल्न थाल्नेछ्यौ तिमी
बारुदले चिथोरेको आमाको स्तन चुस्न छोड्नेछ्यौ जब
तिमीलाई तिम्रो नाम सोधिनेछ- पहिलोपल्ट ।
जब तिमी यी खेत र जंगलहरूमा
गाउन थाल्नेछ्यौ गीत/बगाउन थाल्नेछ्यौ पसिना
तिमीलाई सोधिनेछ- तिम्रो देश
आखिर तिमी एक योद्धाकी छोरी हौ
तर, उनीहरूलाई कुनै मतलब हुने छैन- त्यो
पटक-पटक सोध्नेछन् उनीहरूले तिमीलाई तिम्रो नाम
तिमी उत्तर दिनेछैनौ ।
किनकि यस धरतीमा त्यस्ता धरती छन्
जसको कुनै नाम छैन
त्यहाँ तिमी जन्मियौ
किनकि-
यस धरतीमा त्यस्ता मानिस छन्
जसको कुनै धरती छैन
त्यहाँ तिमी जन्मियौ ।
त्यसैले तिमी-
अमेरिकी, चिनियाँ, रुसी, जर्मनी
अफ्रिकी, इराकी, भारतीय वा नेपाली... कुनै
आरोपित हुनेछ्यौ
तर, त्यो प्रमाणित हुनेछैन
र, तिमी आफू उभिएको
भुइँको माटो मुठ्याएर हेर्नेछ्यौ- यो कुन देश हो... ?
अफशोच !
तिम्रो योद्धाबाबुको मृत्यु भइसकेको हुनेछ !
तिम्री आमा बन्दी भएको यो शिविरको एकान्तमा उभिएर
तिमी आफ्नो बाबुको रातो डायरीको अन्तिम पाना पल्टाउनेछ्यौ
र, ध्वाँसो लागेको बन्दुक सफा गर्न थाल्नेछ्यौ ।