19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूलहरू

कविता अनुभव आत्रेय February 2, 2017, 7:07 pm

फूलबारीका फूलहरू

आज बजार-बजार बिक्दा रै'छन्‌!

ए माली दाइ!

सुनेको सम्म थिएँ

देखेको आजकै दिन हो

एक-दुई होइन,

फूलहरू हजार हजार बिक्दा रै"छन्‌,

फूलबारीका फूलहरू

आज बजार-बजार बिक्दा रै'छन्‌!

साँढेहरूका आँखा छली हुर्किएका फूल

भमराका आँखी बनी फक्रिएका फूल

गमलाका गुलाब पनि

पलङका श्रृङ्गार पनि

मुना-कोपिला-फूल फूलहरू बढ्दा पनि

आँधी-बतास, घाम-पानी फूलहरू झर्दा पनी

फूलहरू अति कोमल

अनि, अति अति नै सस्ता रै'छन्‌,

फूलबारीका फूलहरू

आज बजार-बजार बिक्दा रै'छन्‌!

भो माली दाइ अति भयो,

अब त चुँड़ाइदेऊ जमानाका जञ्जीरहरू

रोपिदेऊ आगोका गोलहरू

हुर्काइदेऊ क्रान्तिका बीजहरू;

यहाँ फूलहरू ज्वाला फुलून्‌

यहाँ फूलहरू क्रान्ति फुलून्‌

किनकि, फूलहरू 'फूल' नै रहे

फूलले पनि मिच्दा रै'छन्‌

फूलबारीका फूलहरू

आज बजार-बजार बिक्दा रै'छन्‌!

***

- राबङ्ला, दक्षिण सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।