मन दुख्दा निचोरिने तिम्रा जस्ता आँखा
कुण्ठाहरु पखाल्न बग्ने तिम्रा जस्ता आँशु
बेखुस हुँदा निमूवा पोखिने तिम्रो जस्तै मुहार
मसँग पनि नभएको कहाँ हो र ।
तर मलाई रुने छुट छैन, दुख्ने छुट छैन
किनकि मैलै तिम्रो जस्तो कसैलाई जित्नै छैन ।
तिमिले भन्दा ढंग पारेर,
तिमिले भन्दा आँखा चम्काएर,
तिमिले भन्दा साह्रो ठाको छोडेर
मैले पनि रुन जानेको छु ।
तर तिमिले जिति रहँदा आफुलाई लिलामीमा राख्ने मलाई
मन कपास पार्ने अधिकार छैन, किनकि मैले कसैलाई जित्नै छैन ।
रोएर जित्नुको मज्जा, क्या मज्जा
लड्डी गरेर हास्नुको मज्जा, क्या मज्जा
हार्दा पनि रुने, जित्दा पनि रुने
तिम्रो चाहनाका बान्कीका अनेक रुप
मेरा खुसीका महासागरहरु स्विकारेको छु,
तर मलाई प्यास मेट्ने कुनै लक्ष्यै छैन
किनकि मैले कसैलाई जित्नै छैन ।
हार्दा पनि हाँसिरहने म
जित्दा पनि रोई रहने तिमि
दुईटा मन देखि मनको दूरी
चाहना देखि चाहनाको दूरी
कति होला, कति माईला होला
जान्न मन थियो, तर नाप्नु पनि छैन
किनकि मैले कसैलाई जित्नै छैन ।
दमक