19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लेट्स ओपन दि बोर्डर !

कविता विजय देवकोटा February 9, 2017, 8:56 pm
विजय देवकोटा
विजय देवकोटा

बन्दुकबाट बच्न

कि त कि त बन्दुकेहरुकै देशमा

कि त बन्दुक नभएको ठाउँमा आउनुपर्ने रहेछ

त्यसैले म सिरिया छाडेर

युरोपका बोर्डर काट्दैछु

म म्यानमारको रोहिंगा

यतिखेर नेपालका गल्लीहरुमा भिख माग्दैछु,

किनकी यहाँ बन्दुकहरुभन्दा बढि

बुद्धका मुर्तिहरु छन्

बन्दुकबाट बच्न

कि त कि त बन्दुकेहरुकै देशमा

कि त बन्दुक नभएको ठाउँमा आउनुपर्दो रहेछ

म भुटानी,

मेरो छातीमा बन्दुकका कुन्दाले घोचियो

नेपाल हुँदै म यतिखेर

बन्दुकको कारखाना अमेरिका आईपुगेको छु

बन्दुकबाट बच्न

कि त कि त बन्दुकेहरुकै देशमा

कि त बन्दुक नभएको ठाउँमा आउनुपर्दो रहेछ

म शिख, मैले मेरो माटोमा आप्mनो पदचाप खोजेँ

मलाई पनि बन्दुकले नै लखेट्यो

यतिखेर म

बन्दुकको भाषा सिकाउने पुरानो शासक

बेलायतीहरुको देशमा छु

बन्दुकबाट बच्न

कि त कि त बन्दुकेहरुकै देशमा

कि त बन्दुक नभएको ठाउँमा आउनुपर्दो रहेछ

बन्दुक कारखानाका मालिकहरु हो ः

तिमीले पानीमा बारुद पड्काउँदै छौ,

जमिनको बन्दुक भोगेकै छौँ,

आकाशबाट पड्कने बन्दुकले

घरको शिरमात्र होइन,

हाम्रै शिर उडाएको छ,

बन्दुक बनाउने केही नाईकेहरु

आफ्ना सिमामा पर्खाल लगाउँदै छन्,

पर्खाल नै लगाउँछौ भने

तिम्रा बन्दुक तिम्रै सिमाभित्र पड्काउ न है

सिमाका ढोका बन्द गर्छौ भने

आफ्ना जहानलाई घरभित्र थुनेर

त्यसमाथि बमबार्ड गर न है

त्यसपछि मात्रै तिमी बुझ्नेछौ ः

तिम्रा बन्दुकका क्षमता

अफगानीहरु, ईराकीहरु, अफ्रिकीहरु,

प्यालेस्टाईनीहरु, सोमालियालीहरु, यमनीहरु

तिम्रै बन्दुकका दासहरुबाट खेदिएका हुन्

ओ बन्दुकवालाहरु,

कि त तिम्रो बोर्डर खुला राख

कि त तिम्रो बन्दुक तिम्रै जमिनमा पड्काउ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।