19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनागरिक

कविता सुन्दर शिरीष February 9, 2017, 9:01 pm

ओई आमा

तिम्रो भुँडीमा नौ महिना बसेर

म जन्मिएको हुँ कि होईन

सत्ते सत्ते भन ।

मैले फोरेको पहिलो सास कहाँको हो ?

मेरो सालनाल गाडिएको माटो कुन हो ?

मैले कुन भुगोलमा पहिलो बामे सरें ?

आमा सत्ते सत्ते भन

ज्योमो याङ्ग्रीको कसम

भन आमा मेरो देश कुन हो ?

राष्ट्रियताको कित्तामा म उभिने धर्ती कुन हो ?

मेरो शरीरबाट

अझैं आइरहेछ माटोको सुवास

मैले फेरेको सास अझै उड्दैछ

हिमालको फेदीहुँदै माथी माथी आकासमा

ऊ हेर पाखाभरी पूmलेका छन् गुराँस

मेरै पसिनाको ब्याडबाट फक्रिएर

प्रकृतिको सुन्दर क्यानभाष उतार्दैछन्

मैले बाँचेको समय टेकेर

अझैं बाँच्दैछ ब्रम्हाण्ड

तर, राज्यको काजगमा कसरी अटेन मेरो नाउँ,

कसरी बनें म अनागरिक ?

भन आमा

किन डर मान्छ्यौ ?

देश नहुनुको पीडा बोकेर

जिन्दगीको कुन खर्क उक्लिन सक्छ्यौ र ?

भन आमा

तिमिले सत्य सत्य भन्यौ भने

म मेरो जन्मकुण्डली उत्खन गरेर

टाँसिदिनेछु सिंहदरबारको भित्तामा

र, खोज्नेछु देश

पहिचान, अधिकार र स्वतन्त्रता ।

तराई, पहाड र हिमाललाई

उन्दै उन्दै एकताको सियोले

टेकेको भूगोल बराबर भाग लगाउनेछु

सबै, सबै, सबैलाई

र, त्यसपछि जन्मनेछैनन्

मजस्ता देश नभएका अनागरिक ।

०००

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।