19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शाश्वत र यथावत् सत्य

कविता सविना पौडेल February 23, 2017, 8:24 pm

इन्द्रेणीलाई कहिल्यै रङ्ग्याउनु पर्दैन

फूलबारीलाई कहिल्यै सजाउनु पर्दैन

जीवन एक भोगाइ अनि

कर्कलाको पानीजस्तो हो

यो निश्चित छ, छैन भनी

कसैले बताउनु पर्दैन ।

दुःख आँफैमा दुःखी छ

यसलाई कसैले सताउनु पर्दैन

यी शाश्वत र यथावत् सत्यहरु

म आफ्नै आँखाले प्रत्यक्ष देख्दै छु र

जीवन नै पानामा उतार्दै छु ।

सूर्य चाहिएमा कदापि साँझ नपर्खिनू

सूर्य नचाहिएमा कदापि बिहान नपर्खिनू

किनकि रोशनी र निशिमाले

उज्यालो र अँध्यारोको पालो कुर्दै बस्छन्

यो त प्रकृतिको अनौठो खेल हो

हार र जित गर्नलाई

कुनै निर्णायकको आवश्यकता पर्दैन

कुनै रेफ्रीले यिनलाई खेलाउनु पर्दैन

मै हुँ भन्नेले पनि

आगो छुँदा तातो हुन्छ

सलाइको काँटी कोरेर तताउनु पर्दैन

धर्ती र पानी आफै पवित्र छन्

कुनै अभिषेकले चोख्याउनु पर्दैन

समय अनौठो अनि गतिशील छ

आफ्नै चालमा डुल्छ

आफ्नै तालमा नाच्छ

इन्द्रले लाखौँलाख बिन्ति गरे पनि

वेदव्यासले युगौँ पलेटी कसे पनि

अहँ समयले पर्खिँदैन

कसैले अड्याएर अडिदैन समय

यी शाश्वत् र यथावत् सत्यहरू

म आफ्नै आँखाले प्रत्यक्ष देख्दैछु र

जीवन नै पानामा उतार्दै छु ।

यो विशाल ब्रह्मण्डलमा

युगौँ युगदेखि

पर्जन्य, पिता बनेर वृष्टि वर्षाउँछन् भने

धरती माता बनेर सृष्टि तेस्र्याउँछिन्

आकाश आँफैमा विशाल छ

कसैले तन्काउनु पर्दैन

द्यौता आफैमा दयावान् छन्

राक्षस आफैमा क्रुद्ध छन्

कसैले पुष्टि गर्नु पर्दैन अनि

कसैले बताइरहनु पर्दैन

यी शाश्वत र यथावत सत्यहरु

म आफ्नै जीवनमा अनुभूत गरिरहेकी छु र

जीवन नै पानामा उतार्दै छु

आजकल म आफ्नो जीवन आँफै रचना गर्दैछु ।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।