14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भ्रम

कथा अर्जुन यावा February 23, 2017, 2:39 pm
अर्जुन यावा
अर्जुन यावा

फरवरी 2016-को 16औं दिन। तादोङ-डाँड़ागाउँदेखि आम्दो गोलाई पुग्नु थियो, बेलुकी 6 बजीतिर। सडकछेउ उभिरहेको थिएँ ट्याक्सी पर्खेर। भर्खर-भर्खरैदेखि गुड्नथालेको एसएनटीको हरियो रङको नयाँ बस रोकियो मेरै अघि। ‘यो नयाँ बसमा चढ्न मन लागेको छ’ धेरैको मुखबाट सुनेको थिए। मलाई पनि चढ़न मन लाग्यो। सोधेँ- ‘आम्दो गोलाईमा रोकिन्छ?’ कण्डकटरले ‘पस्नोस.., पस्नोस..।’ भन्नेबित्तिकै चढ़ेँ। पछिलतिरका दुई-तीन सीट रिक्त थिए। लगभग एककिलोमिटर मात्रैको हो मेरो यो यात्रा। त्यसैले रिक्त सिटसम्म पुगिरहनु आवश्यक थिएन। दैलोछेउ उभिएँ।

---

म उभिएदेखि दुईसिट पछाड़ि मेरो दाहिनेतिर.., होइन बसको दाहिनेतिरको सिटमा बसेका थिए एक भलाद्मी। हेर्दा गम्भीर। मुहारमा केही भावहरू, तर ओंठमा अलिकति पनि मुस्कान नदेखिने। हुनसक्छ केही कुरा गमिरहेका थिए। अथवा हुनसक्छ कुनै कुराले उनलाई चिन्तामा डुबाइरहेको थियो। अथवा उनलाई मैंले त्यस्तो देखेको हुनसक्छु। मेरो देखाइ भूल भए पनि यति त पक्कै विश्‍वास छ कि उनी एक असल घर-परिवारका थिए। एक शिक्षित र सभ्य व्यक्तित्व थिए।

---

ती भलाद्मीभन्दा एकसिट पछाड़ि अथवा म उभिएभन्दा तीनसिट उता मेरा आँखा टक्क अड़िएका थिए एक सुन्दरी युवतीमा। युवती होइन महिला। मेरो अनुमान, उनी चालीसको थोरै तल-माथिकी थिइन्। सुन्दर वस्त्रमा सजिएको जसरी मिलेको शारीरिक बनावट, उस्तै सुन्दर रूप भनौं उज्यालिएको मुहार पनि। छेउमा तर कोही थिएन उनको। अरुहरूतिर मेरो ध्यान गयो। हेरेँ, सबै उस्तै लाग्यो। अनि सम्झेँ यत्ति सुन्दर रूप लिएर बसको यात्रा गरिरहेकाहरूको मन पनि कत्ति सुन्दर होलान्।

---

कन्भोय ग्राउण्डमा बस रोकियो। एकजना पेसेञ्जर ओर्लिए। बाहिरबाट चारजना चढ़े। भेषभूषा र रूप-रङले बताइरहेको थियो म उभिएको दुईसिट पछाड़िका भलाद्मी र तीनसिट पछाड़िकी महिला झैं उनीहरू थिएनन्। ‘सायद साधारण परिवारका बङ्गाली अथवा बिहारी हुनुपर्छ’, मेरो अनुमान थियो।

‘काहाँ जाना है?’ कण्डकटरले प्रश्‍न गरेका थिए।

‘बजार।’ एकजनाले एकै शब्दमा जवाब दिए।

‘चलो, पिछे सिट खाली है।’ कण्डरले पछाड़िका खाली सिटहरूतिर हेर्दै भने। मैंले अलिकति ढल्किएर पछाड़ि जान दिएँ।

---

‘भाड़ा कति?’ मैले सोधें कण्डकटरलाई।

‘दश दिनोस न।’ कण्डकटरको जवाब थियो। दश अथवा दश रुपियाँ। ‘दश दिएर त म ट्याक्सी मै गइहाल्थें नि पर्खेरै भएपनि।’ भने मनमनै, तर त्यसो भनिहालिन। उनैले थपे ‘पाँच दिनोस भनौैं भने चेञ्ज छैन नि।’

‘मसँग छ नि।’ मैले भनेपछि ‘दिनोस न छ भने त।’ भने उनले।

---

‘ओए...! आँखा देख्दैनस...?’ अचानक चर्को आवाजले तर्से झैं पछाड़ि फर्केर हेरें। अघिका ती भलाद्मी बल्ल बोलेको सुनेँ। पछाड़ि सिटतिर जाँदा सायद सिटभन्दा आधि नै बाहिर निस्केको उनको खुट्टामा हिर्काइदिएछ सायद। मसितै अरुले पनि फर्केर हेरेका थिए उनलाई।

‘लात भेट्छस् है। आँखा हेरेर हिँड़ ग... सा...।’

मभित्रको भ्रम तोड़ियो।

---

‘मेडम थोड़ा साइड देंगे?’ पछाड़ि सिटतिर गइरहेका एकजनाले भन्दै थिए। हेरेँ, म उभिएदेखि तीनसिट पछाड़ि झ्यालछेउको रिक्त सिटमा बस्न चाहिरहेका थिए उनी। ‘मेडम’-ले तर सुनिनन्। सुनिनन् होइन सायद ‘सुनेर पनि नसुनेकी हुन्’ मैंले अनुमान लगाएँ।

‘मेडम! थोड़ा साइट प्लिज।’ हातमा ‘सामसोङ ग्यालेक्सी’, सामसोङ ग्यालेक्सीमा दुईहातका दुई बुढ़ीऔंला र दुई नयन। सुनिनन् फेरि पनि उनले। अलिकति चेप्टिएला झैं गरी ती व्यक्ति सिटतिर छिर्न खोजिरहेका थिए।

‘क्या हुआ..?’ बल्ल सामसोङ ग्यालेक्सीबाट दुई नयन हटे। अनि निस्किए तिखो, उराठिलो कुन्नि कस्तो आवाज। थपिन उनले ‘दो मिनट खड़े रहे नही पाओगे? बजार ही तो जाना है ना?’

फेरि अर्को भ्रम तोड़ियो।

‘भाइ आम्दो गोलाइ भनेको होइन...?’ कण्डकटरले एकहातले मलाई कोट्याउँदै रहेछन्। सबै बिर्सेर ओर्लिएँ।

गान्तोक सिक्किम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।