19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जून रोएको देश

कविता रोशन हतुवाली March 3, 2017, 7:39 am

खुल्ला आकाश !

आफ्नै देशको चौँरबाट

टुक्रा–टुक्रामा चराको गीत बनेर

मौनधारण गरिरहेछन् पहाडहरु

हिमालसँगै टाँसिएको हिउँका कणहरु

भूँईचालो नआई हामफालीरहेछन् एैँसुलुको झ्याङ्गबाट

हजुरबा र शान्ति एक्कैचोटि

निलो आकाशमा उभिएर जून

आत्महत्याको सपना बुनिरहेछन् इन्द्रेणीसँगै

एक सन्तान देशको सम्झना बोकेर

तिम्रो प्रश्न मेरो प्रश्न अपुग भनिरहेछन् ।

विचरा ठूले !

खोल्साबाट बाढी नआई

नदी मातिएकोले अलिक तल बग्नेछ–

यदापि,

सेलोको भाकामा झरना एक बिहानै

जीवनको रङ्ग उकाली–ओरालीमा कुम्लो बोकेर

सोधिरहेछन् आमा ! म तिम्रो सन्तान हो कि होईन ?

जून रोएको रातपछि

आमाको पछ्यौरी घुम्टो ओढेर

धुलै–धुलोमा पाइला टेकेपछि

बगिरहेछन् पोहोर साल देखेर

आमा र देश

छेउमै बसेर आगो र पानी हुन सकेनन्–

खोई कुरा कसरी गरुँ म ?

जून रोएको देशमा ।

बिन्ती छ आमा !

किन काँगडा र टिस्टा एक हुन सकेनन्–

देशको काखमा संस्कारको नदी हुर्किएर

तिम्रो साथ चाहिँदैन आमा ?

पिडै–पिडाको इतिहासभित्र

यो कुनै आशा होईन आमा !

यो त केवल सन्तानको अधिकार हो ।

खोजिरहेछन् जन्म दर्ताको प्रमाण पत्र लिन

एक कहानी लाग्दो चित्कार लिएर

रोईरहेछन् डण्डिबियोको खेलमा पारुहाङ

देशमा लालीगुराँस फुल्न बाँकी छ अचेल

सुम्निमाको राहदानी कहाँ छ आमा ?

खोई कहाँ छ ?

आफ्नै सन्तानको हत्या गरिरहेछौँ–

वीर पुर्खाको धनिपुर्जा कहाँ छ आमा ?

एक ढाकर खुशी उक्लियोस् आमा ?

एक्कैछिन हराउँनेछ जून रोएको देश ।

कठै !

सीता बैँसको आङमा

रोईरहेछन् भोको सारङ्गीहरु

मधेशको लेउती बगरमा महिनावारी सुकेको छैन–

सुन्दा पनि घृणा लाग्छ तिमीलाई आमा !

रुदैछिन् ज्वालामुखीको जाँटोभित्र

आज बेदनामा आफैँ

विचरा ठूले !

म तिम्रो सन्तान हो कि होईन आमा ?

होम्ताङ्ग –४ भोजपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।