19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म किन सहरिया भएछु ?

कविता पशुपति पराजुली "सालघारी" March 3, 2017, 8:17 am
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

म हुर्केको घर–आँगन

र आँगनपारिको सानो गोरेटो

जहाँबाट म दिनदिनको गोठालो जीवन सुरु गर्थेँ

आज झन् फराकिलो

र परिपक्व हुन पुग्यो होला ।

त्यो पिँडौला पनि नडुब्ने

शेरे खोलाको दहमा

म तल्लोघरे भुन्टेसँग

पौडी खेल्न सिक्ने गर्थेँ ।

त्यो खोला हामी पुग्नु अगावै

सधैँसधैँ फोहोरहरू पखाली

सङ्लो पारेर तयारी बस्थ्यो

तर आज भुन्टेलाई एक्लै दहमा देख्दा

दहमाथिको छाँगोले सोध्दो हो–

खोइ तिम्रो साथी ? भनेर

भुन्टे जवाफ दिँदो हो–‘ऊ त सहरिया भइसक्यो ।’

सधैँजसो

पारि पाखा र डाँडाखेतमा गाईवस्तु छोडेर

ती गोठाले दिनहरूमा

हाकपारे र चुड्के गीतको जुहारी खेल्दै

सूर्य पश्चिममा डुबिसकेका हुन्थे

आजभोली ती पल्लाघरे कान्छी

कुन्नि के के मायाप्रीतीका कुरा सम्झिँदै

गालामा हात राखेर

गीतकै भाकामा प्रश्न गर्दै

उत्तर पाउने आशामा

अझै पनि त्यही चप्लेटी ढुङ्गामै

पर्खिरहेकी होलिन् ।

आजभोलि पनि त्यहाँ

दिनरातको क्रम उस्तै होला

दिन आउँदै होला

रात गुज्रँदै होला ।

बिहान सबेरै

क्षितिजको कालो पर्दा उघार्न

मेरो घरमुनिको पीपलको बोटबाट

कोइलीले कुहुकुहु गर्दै

कुखुरालाई ब्युँझाउँथ्यो

र कुखुरीकाँको आवाजले मलाई उठाउँथ्यो

यो क्रम त्यहाँ अझै त्यस्तै होला ।

मैले खने–खोस्रेका घर वरिपरिका करेसा बारीहरू

मैले गोडमेल गरेका प्रत्येक फूलहरू

आज फक्रिन तयार भएर मलाई पर्खिरहेका होलान् ।

मेरो छिमेकी

झिल्के मिझारले सिएका

ती देशी छालाका जुत्ताहरु लगाएर

‘गड्याप् गड्याप्’ को आवाज निकाल्दै

मैले उँधो–उँभो गरेका

माझखर्क र सल्लेनीका उकाली ओरालीहरू

आज निस्ताउँदै गए होलान् ।

ती सालका अग्ला रुखहरू

खुट्टा तन्काएर अझै अग्लिँदै

मैलाई यताउति हेर्दा हुन्

मन त दुःखिरहन्छ सम्झनामा

अनि आफैँलाई प्रश्न गर्न मन लाग्छ

‘म किन सहरिया भएछु’ भनेर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।