14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आइमाईको बुद्धि हुँदैन

कविता लीला लुइटेल March 3, 2017, 2:19 am
लीला लुइटेल
लीला लुइटेल

चुल्बुले बाल्यकाललाई उनकै इसारामा थाती राखेर

आफ्नो जन्मदाता बाबुको प्रतिरूप खोज्दै

उनकै सेवा र त्यागमा रूपान्तरित भइरहँदा

तिम्रा बाजेले मलाई निरीह देख्थे

जैरी बुहारी सम्झन्थे र भन्थे

आइमाईको बुद्धि हुँदैन ।

आफ्ना प्रत्येक रहर र इच्छाहरूलाई

उनकै पाउमा चढाउँदै

समर्पण र प्रेमलाई उनका हुकुमहरूसँगै साटिदिँदा पनि

तिम्रा बाबुले मलाई खुट्टाको जुत्ता सम्झन्थे

अनि मेरो उपहास गर्दै भन्थे

आइमाईको बुद्धि हुँदैन ।

मेरो प्यारो छोरा

तिमीले पनि बाउबाजेकै बिँडो थाम्यौ

तिमीले चाहिँ के सम्झेर मलाई भन्यौ

आइमाईको बुद्धि हुँदैन ।

तिम्रा बाजेले स्कुल देखेनन्

तुलसीदासलाई श्रद्धा गर्थे

तिम्रा बाबुले पढ्न नसके पनि

एरिस्टोटलको भनाइ सुनेका थिए

मैले त आफैँ बन्धकी बसेर

तिमीलाई पढ्न पठाएकै थिएँ

तिमीलाई डार्बिनको जिनको सूत्र त कन्ठै थियो

यति हुँदाहुँदै पनि मैले बुझ्न सकिन

मेरो प्यारो छोरा तिमीले किन भन्यौ

आइमाईको बुद्धि हुँदैन ।

दुधगुन बुद्धि भन्ने यथार्थ

तिम्रा बाजेले जानेकै थिए

अरूको लाख आमाको काख

भन्ने आहानको मर्म

तिम्रा बाबुले बुझेकै थिए

द्यौरालीमाथिको चौतारामा बसेर

पोले पनि घामै जाति

कुटे पनि आमै जाति

भन्दै विरक्तिएको भाकामा

तिम्रा बाबुले गाएकै थिए

तर पनि मेरो प्यारो छोरा

मैले कहिल्यै बुझ्न सकिन

उनीहरू किन भन्थे

आइमाईको बुद्धि हुँदैन ।

तिमी मभित्रै टुसाएका हौ

यमराजका दूतसँग लाप्पा खेलेर

मैले दसधाराले सिंचेकै हुँ

मेरै वात्सल्यको न्यानोमा

तिमी सामथ्र्यवान् भएकै हौ

तर पनि मेरो प्यारो छोरा

तिमीले के सम्झ्यौ र भन्यो

आइमाईको बुद्धि हुँदैन ।

एकपल्ट आफैँतिर फर्केर हेर

अनि च्याहा च्याहा गरेर

घाँटी क्याप्पै भएका बेला

अमृतले घाँटी रसाएको पललाई अनुभूत गर्दे

आपूm जन्मेको क्षणलाई सम्झेर हेर

धर्तीप्रवेशको द्वार सम्झेर

एकपल्ट सबैले सुन्नेगरी ठूलो स्वरले भन

मेरो प्यारो छोरा

आइमाईको बुद्धि हुँदैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।