14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मेरा अपराधी बा

कविता लीला लुइटेल March 13, 2017, 12:46 am
लीला लुइटेल
लीला लुइटेल

सोध्न सकेनन् द्रुपदले

गल्ती के थियो

आफ्नो मुटुको टुक्राको

उसको शरीर र मुटुलाई

टुक्राटुक्रा पारेर पाँच भाग लगाउँनु पर्ने

वीर, धीर, सुन्दर, पराक्रमी भनेर

विश्वास गरेकाहरुले नै

जुवामा हारिदिँदा पनि

अनि आफ्नै भनिएकाहरुले

उसको अस्तित्वमा धावा बोल्दा पनि

किनकि बा त अपराधी थिए

अनि छोरी जन्माउनु उनको अपराध थियो ।

सोध्न सकेनन् जनकले

आफ्नो आँखाको नानीलाई

अग्निमा होमेर

त्यसैको तिलक लगाई

घोक्रो फुलाएर हिँड्ने रामलाई

उसकै वंश विस्तारको यात्रामा रहेकी

अपहेलित सीताका बारेमा

कुनै सोधखोज गर्न सकेनन्

किनकि उनी त अपराधी थिए

अनि अपराध छोरी जन्माउनु थियो ।

विना स्वार्थ विना सर्त

आफ्नो पहिचान र विवेकलाई बन्धकी राखेर

मैले तिमीलाई

शरीर दिएँ, दिमाग दिएँ, मुटु दिएँ

त्यतिले पनि तिमी तृप्त नभएर

तिमी त मलाई

पुर्ने योजनामा पो रहेछौ

त्यो पनि मैले नै चिहान खनिदिएर ।

सोध्न सकेनन् मेरा बाले

किन पुर्ने आफ्नो आँखाको नानीलाई

उनले त मलाई घिसार्दै

उही खाल्डोनजिक पु¥याइदिए

अनि तिम्रो खुट्टामा टाउको जोत्दै

उनले भने

हजुर यो अलि मूर्ख छ

यसका लागि माफी पाऊँ ।

किनकि मेरा बा

ठूलै अपराधी थिए

उनको ठूलो अपराध

तिम्रो जुत्ता बनाउन

आफ्नै मुटुको टुक्रा

सुम्पिनु थियो

अनेक कष्ट र पीडा सहेर

तिम्रो वंश विस्तार गर्ने

मेसिन तयार गरी

तिमीलाई अर्पनु थियो

यीभन्दा अझ ठूलो अर्काे अक्षम्य अपराध

आफूले आर्जेका सारा, यश, कीर्ति, वैभव

अनि आफ्नो विवेकसमेत

सबैलाई तिम्रो पैतालामुनि पुरिदिएर

तिमीलाई नारान बनाउनु थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।