19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुखिरहने कविता

कविता रिता अधिकारी ऋतू March 24, 2017, 7:16 pm

अहँ

कहिलेकाहीँ त निर्धक्क सास फेर्ने मेसो नि हुन्न

के को कविता लेखी बस्नू ?

आफैंले भोगेको जीवन नै कथा जस्तो लाग्छ आफैंलाई

कस्को कथा लेखी रहनू ?

लाग्छ -

आइमाई हुनु

दुखिरहने कविता हुनु हो

कथा - ब्यथा हुनु हो

अा-अाफ्नै ब्यथाको दह छ - स्वास्नीमान्छेहरूसँग

एकैसाथ फुट्यो भने

दुनियाँ संसार बगाउँछ !

***

हजुर आमा भन्नू हुन्थ्यो ---

"चर्को नबोल्नू

मुख - मुखै नलाउनू

नफर्काउनू मुख

लोउनिमुन्छेको जातै पापी हुन्च

कपटी हुन्च ल‍ोउनिमुन्छे

पुरै मन पेट न दिनू

आफ्नै सौभाग्गेमा बिस्वास त अर्नै परो

पुरै भर नपर्नू बाबै

आफ्नु सोचो नि अर्नू

नत्र ,भबिस्सेमा

कुक्कुरले नपाउने दुख्ख पाइन्च !"

***

लाग्थ्यो -----

किन त्यस्तो भनिन् होला आमैले

उनैको जमानाको कुरा होला सायद

अहँ ! होइन रहेछ ।

***

अाइमाई हुनु

स्वास्नीमान्छे,नारी या महिला हुनु

भन्नेले जे भने नि

दुखिरहने कविता हुनु हो

महिला मुक्ति र नारी अधिकारको आवाज सुसेल्दै

गमलामा मुस्कुराउनु हो

घर गरेर खानु हो अथवा होइन

घरले खानु त जरुर हो

गुँड लाउनु पनि हो

कुर कुर्नु पनि हो

घर हुनु , भर हुनु या छानो हुनु

मझेरी , बिसौनी या चौपारी हुनु

यी तमाम हुनु हो नारी हुनु

सृष्टिको सर्वोच्च सौर्न्दर्य हो-नारी

विश्वका तमाम नारीहरु हो

गर्व गरौं आफू हुनुमा

दुखिरहने कविता नै सही !

***

ओ ,कुरुप सत्ता ?

के तिम्लाई मालुम छ तिम्रो अम्माको नाम ?

आमा ,हजुरआमाहरूको नाम थाहा छ ?

तिनीहरूको नाम हुन्छ कि हुन्न हँ ?

फुलबारी ,पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।