16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा नै चाहिन्छ

कविता इन्दिरा दीक्षित April 7, 2017, 2:07 pm
इन्दिरा दीक्षित
इन्दिरा दीक्षित

आज छोरीले बाबुलाई प्रश्न तेर्स्याई ।

आसै नगरेको कुरो गरेर देखाई ।

बाबा ! तिम्ले मलाई कैले मायॉं गर्यौ र ?

अनि मैले पनि तिम्लाई किन मायॉं गर्नुपर्यो र ?

म जन्मन लाग्दा प्रशव वेदनाले छट्पट्टिएकी मेरी आमा ।

कोही कतै सहारा छ कि भन्दै आँखा घुमाइरहेकी मेरी आमा ।

क़तै तिम्रो उपस्थितिको आभाश मैले पाइनँ ।

बेदनाले तड्पिरहेकी मेरी आमा ।

आँखा सँघारमै गएर ठोक्किदो हो

कतै तिमी आउँछौ कि भन्ने आस हुँदो हो ।

अगाडी जो भए पनि खोजी त तिम्रै हुँदो हो ।

तैपनि तिमी आएनौ बाबा ।

म आमाको कोखबाट बाहिर निस्कँदा पनि त ।

मलाई तिम्रो महसुस भएन त ?

त्यति बेला तिमी काहॉं थियौ बाबा ?

कतै सुन्दरीको बाहुपासमा थियौ कि ?

या कतै सुरासँगै जुवाको खालमा थियौ ?

रातभरी म आमाको अँगालोमा गुट्मुटिएर सुते ।

तिम्लाई त मैले देखिनँ !

यस्तै कति रात बिते ।

तिम्रो काख मैले खोजिरहें ।

बाबा तिम्ले मलाई पुलुक्क पनि हेरेनौ नि ।

सधैँ सबै मेरो सुश्रूषा त आमाले मात्रै गर्थिन् ।

बिहानदेखि रातीसन्म उनीमात्रै हुन्थिन् ।

तिमी त आधी रातमा भित्र पस्थ्यौ ।

अनि खैलाबैला गरेर छिमेकीको निन्द्रा भगाउँथ्यौ ।

सधैँसधै तिम्रो यस्तै क्रियाकलाप हुन्थ्यो ।

घरभित्र तिम्रो आगमन पनि अभिशाप हुन्थ्यो ।

अबत म ठूली भएँ !

सबै कुरा बुझ्ने भएँ ।

तर पनि तिम्ले मलाई देखेनौ ।

मेरा लागि कताकता काँम गर्दै हिड्ने मेरी आमा

अर्काले दिएको खाने कुरा पनि ।

खोकिलामा घुसारेर ल्याउँदै ख्वाउँने मेरी आमा ।

खै कसरी कसरी खाइनखाई मलाई ख्वाउने मेरी आमा ।

दसनँग्रा ख्याएर मलाई अँग्रेजीस्कूल पठाउने मेरी आमा ।

बाबा ! तिम्ले मलाई किन पठाएनौ ?

स्कुलको पैसा पनि त कैले तिरेनौ !

आज मैले धेरै पढें ।

राम्रो कॉंम गरेर पैसा कमाउँने बने ।

तिमीमा पनि अब त्यो जोस र जाँगर हराएछ ।

सायद बूढो भयौ कि ?

या कुनै नराम्रो रोगले च्यापेको छ ?

घरै बसेर आमाले पकाएको खान थालेछौ त ?

फेरि पनि मिठो नमिठोको कुरा गर्छौ ?

बाबा ! तिम्ले किनेर ल्याएका हौ र ?

तिम्रो बुध्दि कैले फिरेन ।

आफ्ना दोष जति सधै आमामाथि खन्याउँथ्यौ ।

कुलाङ्गार अलछिनी भन्थ्यौ ।

बातै पिच्छे आमाको पुच्छर निमठ्ने बानी कैले पनि गएन ।

सबै कुराको हद हुन्छ ।

सहनुको पनि सीमा हुन्छ ।

बाबा ! उनी त मेरी आमा हुन् ।

म सानु हुँदा कुनामा कसैले नदेख्ने गरी रुने मेरी आमा ।

अनि आजसम्म पनि रुनु पर्ने मेरी आमा ।

भो अब त म रुन दिन्न ।

मलाई मेरै आमा चाहिन्छ ।

बाबा ! तिमी त नभए पनि हुन्छ ।

मलाई मेरै अामा चाहिन्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।