14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पर्खाल

लघुकथा राजु “हिमांशु” April 28, 2017, 12:07 am
राजु “हिमांशु”
राजु “हिमांशु”

एकदिन सतहमा आएको माछालाई सधैँ ढुकी बस्ने बिरालोले पञ्जाले हिर्कायो / घाइते माछा पानी धमिल्याउँदै तलाउको गहिराइमा पस्यो / त्यसपछि.............................................................................

त्यहाँ एउटा तलाउ छ/ तलाउमा रङ्गिन माछाहरु छन् / बिहान बिहान ड्यूटी जान अघि फूलमा पानी हाल्दा उसले देख्ने गर्छ त्यो तलाउ र त्यहाँ भएका रङ्गिन माछाहरु / तर ऊ त्यहाँ जान सक्दैन / उसको घरअघि बारिएको छ काँड़े तारले/ तारले बारिएको उता त्यो तलाउ पर्छ /यता उसको घर पर्छ/कहिले माथिबाट उसले रोटीका,मुछिएको आटाका टुक्राहरु त्यो तलाउमा फ्याँकने गर्छ माछाले खाओस् सोचेर/ कहिले काही माथिबाट हेरिरहेको छिमेकीले सोध्ने गर्छ उसलाई यसरी- “ के गरेको ? आज अफिस न जाने?”

जवाफमा ऊ भन्छ – “ माछालाई रोटी दिएको/ आफिस त जानुपर्छ नी / छुट्टी छैन / ”

हिजो पनि सधैँझैँ फूलमा पानी हाल्न छतमा चढ्यो ऊ / ट्याङ्कीबाट पानी उघाएर झिंझिरीमा भर्यो र फूलमा पानी हाल्न थाल्यो / पानी हाल्दा उसले त्यो तलाउतर्फ हेर्यो र देख्यो रङ्गिन माछाहरु यताउता कुदिरहेका/ अचानक उसका आँखाहरू तलाउको भित्तामा टाँसिएर बसेको एउटा ठूलो माछामाथि अड़िए / सुन्तला रङ्गको त्यो माछा भित्तामा अड़ेसिएर चुपचाप बसिरहेको थियो / ऊ पनि फूलमा पानी हाल्न व्यस्त रह्यो / पानी हाली सबै थन्काइसकेपछि उसको नजर फेरि त्यो तलाउतर्फ केन्द्रित भयो / त्यो माछा त्यही थियो चुपचाप / उसले माथिबाट राम्ररी हेर्यो फेरि/ माछा चुपचाप थियो पूर्ववत् / शङ्का लागेर ऊ छिमेकी (माछाको मालिक) भएकोमा गयो र भन्यो –“तलाउमा एउटा माछा मरेको जस्तो छ / ”

छिमेकीले भन्यो- “ होइन होला / हिजो बेलुकी त मैले हेरेर आएको/ सबै ठिकै थियो / ”

उसले भन्यो – “एकपल्ट तलाउमा गएर हेर्नुहोस /”

“जाऔं त हेरौं एकपल्ट/” छिमेकी बोल्यो /

दुवै तलाउतर्फ लागे र त्यहाँ पुगेर हेरे/ साँच्चै माछा मरिसकेको थियो/ त्यसको जीउभरि चेपेगेड़ाहरु टाँसिएका थिए / उसले एउटा काठको टुक्राले माछालाई तलाउबाट बाहिर निकाल्यो / मरेको माछा अण्डा पार्ने अवस्थामा भएको जस्तो देखिन्थ्यो / निकै मोटिएको माछाको पेटनेर चोट लागेको निसान थियो/

उसले भन्यो –“केले टोकेको जस्तो छ /”

“केले टोक्छ र ?”छिमेकीले भन्यो /

उसले भन्यो –“ठूलो माछाले टोक्यो होला/ कि त कसैले हिर्कायो होला/ सायद नानीहरुले हिर्काए होलान्/”

दुई दिनपछि छिमेकी र ऊमाझ उसको कुकुरले छिमेकीको घरको दैलोमा मुतेको विषयमा केही भनावैरी भयो/ तर्कले आकाश छुन खोज्दा झण्डै हात छोड़ाछोड़ पनि भयो/ त्यसको भोलिपल्ट पुलिसहरु आएर उसलाई थाना लगे / छिमेकीले थानामा प्राथमिकी लेखाएछ / ऊमाथि उसले छिमेकीले तलाउमा पालेको माछालाई मारेको आरोप थियो / ऊ छक्क पर्यो / पुलिसले उसलाई धेरै सम्झाएर छोड़िदियो/ तर उसको आत्मसम्मानमा भने ठूलो चोट लाग्यो /

गाउँभरि कुरा फिँजिए यस्ता –

“छतबाट माछालाई के के दिएको त मैले पनि देखेको थिएँ /”

“विष हालिदियो होला/”

“हाम्रो समाजमा रिस र आह्रिस नै त हुन् डरलाग्दो विष/”

“आफूले पनि गर्न नसक्ने अर्कालाई पनि गर्न नदिने प्रवृत्तिले गर्दा नै हामी पछाड़िएका/”

“कस्तो राम्रो भएको थियो माछा / अण्डा पार्ने बेला भएको थियो / पाप लाग्छ /”

“मान्छेको दिमाग बिग्रिएपछि यस्तै खति हुन्छ / ”

“यस्तो छ हाम्रो समाज / अन्त कहाँ हुन्छ आन्दोलन सफल ? ”

समाज र जातिको निम्ति मरिमेट्ने ऊ भने अचेल कसैसित नबोल्ने र कतै पनि नजाने भएको छ । फूलमा पानी पनि छोरोलाई हाल्न लगाउने भएको छ ।

“ तलाउ नै नदेख्ने गरी पर्खाल लगाउँछु” भन्ने सोचले ऊ ग्रसित छ अचेल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।