18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गोदावरी

कविता पशुपति पराजुली "सालघारी" June 26, 2017, 2:00 pm
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

त्यो ठाउँ

जहाँ मेरा हरेक विचार

विलीन हुन पुगे

जहाँ मैले एउटा नयाँ संसारको अनुभूति पाएँ ।

जहाँ बास्नाले भरिएको जवानीजस्तै

वनपाखा गुन्जाउने मधुर संगिनीजस्तै

बिथोलिएको मुटुलाई सान्त्वना दिने

एक टुक्रा चाँदनी पाएँ ।

जहाँ हरेक फूल

हावासँगै

भावुक इन्द्रिय खोलेर

जीवन कहानी सुनाइरहन्थे

साँच्चै नै त्यो

स्वर्गको फूलबारी भएजस्तै

अप्सराहरुको नाट्यमञ्चजस्तै देखिन्थ्यो ।

त्यही ठाउँ अहिले

म फर्किँदै गर्दा

टाढाटाढा भइरहेछ–मबाट

‘बिदा–बिदा’ भन्दै

तर मेरो हृदयाकाशमा

एउटा अमिट छाप छोडेर

अन्जानमै मबाट

एक टुक्रा चुँडाइलगेछ

त्यो त्यही छाप हो

जो म यमराजको ढोकामा पुग्दासम्म

मलाई पछ्याइरहनेछ

म माटोमा विलय भएको दिन

मसँगै विलीन हुनेछ ।

त्यो त्यही मनोहर स्थल हो

जसको सुन्दर नाम छ–

‘गोदावरी’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।